प्रधान सेनापति महिला फुटबलको फाइनलमा आर्मी–एपीएफको विभागीय डर्बी

जारी प्रतियोगिताको सोमबार भएको सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई ५–२ फरक गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो,दोस्रो सेमिफाइनल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले भुटानको राष्ट्रिय टोलीमाथि २–० को जित रच्दै एपीएफसँगको भेट पक्का गरेको हो

जनसम्मत
पौष ७, २०७६, सोमबार

पोखरा । विभागीय डर्बी नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ काठमाण्डौंमा जारी सातौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।

जारी प्रतियोगिताको सोमबार भएको सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई ५–२ फरक गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो । दोस्रो सेमिफाइनल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले भुटानको राष्ट्रिय टोलीमाथि २–० को जित रच्दै एपीएफसँगको भेट पक्का गरेको हो ।

नेपाली सेनाको भद्रकालीस्थित मुख्यालयको खेल मैदानमा सोमबार भएको सेमिफाइनलमा एपीएफले शुरुवातदेखि नै पुलिस क्लबलाई दबाबमा राखेको थियो । एपीएफकी सावित्रा भण्डारीले ह्याट्रिक गरिन् ।

यस्तै, अनिता बस्नेत र रेखा पौडेलले समान १/१ गोल गरे । पुलिस क्लबका लागि घिमकुमारी गुरुङ र निशा सुनुवारले समान १/१ गोल गरे ।

एपीएफका लागि सावित्राले खेलको तेस्रो मिनेटमै गोल गर्दैै टोलीलाई अग्रता दिलाएकी थिइन् । यस्तै, पुलिसकी निशाले खेलको ४३ औँ मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पु¥याइन् । मध्यान्तरअघिको इन्जूरी समयमा एपीएफकी अनिताले दोस्रो गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाइन् ।

लगत्तै पुलिसकी घिमकुमारीले गोल गर्दै एपीएफसँग २–२ को बराबरी गरिन् । मध्यान्तरपछिको खेल सकिँदासम्म एपीएफ र पुलिस २–२ गोलको बराबरीमा थिए । त्यसपछिको अतिरिक्त समयमा एपीएफका लागि सावित्राले २ र रेखाले १ गोल गरे ।

दोस्रो सेमिफाइनलमा आर्मीको जितमा पूजा राना र विमला चौधरीले समान १/१ गोलको योगदान गरे । खेलको १० औं मिनेटमा पूजाले गोल गर्दै आर्मीलाई अग्रता दिलाइन् । खेल सकिन ६ मिनेट बाँकी रहँदा विमला चौधरीले गोल गर्दै आर्मीको जित पक्का गरिन् ।