जेसिका–रशिलाको जोडीलाई बंगलादेश जुनियर इन्टरनेशनल सिरिज ब्याडमिन्टनको रजत पदक

अन्तिम स्पर्धामा जेसिका र रशिलाको जोडी चेङ सु यिन र चेङ सु हुइसित २१–८ र २१–७ अंकले पराजित भएका थिए

जनसम्मत
पौष ७, २०७६, सोमबार

पोखरा । नेपालका जेसिका गुरुङ र रशिला महर्जनको जोडीले बंगलादेशको राजधानी ढाकामा भएको बंगलादेश जुनियर इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगितामा रजत पदक प्राप्त गरेका छन् ।

ढाकास्थित सहिद ताजुद्धिन अहमद रंगशालामा सम्पन्न अन्तिम स्पर्धामा जेसिका र रशिलाको जोडी मलेसियाको खेलाडीसँग पराजित भएको थियो ।

सो जोडी मलेसियाका चेङ सु यिन र चेङ सु हुइसित २१–८ र २१–७ अंकले पराजित भएका थिए । यसअघि, जेसिका र रशिलाको जोडीले सेमिफाइनलमा बंगलादेशका खेलाडीलाई हराएको थियो । ब्याडमिन्टन प्रतियोगिता खेल्न नेपाली टोली गत मंसिरको २९ गते बंगलादेशतर्फ प्रस्थान गरेको थियो ।

बंगलादेश जुनियर इन्टरनेशनल सिरिजमा जेसिका र रशिलासँगै प्रिन्स दाहाल र देवराज रानाले प्रतिस्पर्धा गरेका थिए । नेपाली खेलाडीले पुरुष र महिला एकल तथा युगल र मिक्स युगल विधामा स्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा बंगलादेश, नेपाल, भारत, मलेसिया, थाइल्याण्डलगायत देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।