इङ्लिस महारथी लिभरपुल फिफा क्लब विश्वकप च्याम्पियन

कतारको दोहामा भएको फाइनल खेलमा लिभरपुलले ब्राजिलियन क्लब फ्लामिङ्गोलाई १–० गोलले हरायो

जनसम्मत
पौष ७, २०७६, सोमबार

एजेन्सी । इङ्लिस महारथी लिभरपुल फिफा क्लब विश्वकप च्याम्पियन बनेको छ ।

कतारको दोहामा भएको फाइनल खेलमा लिभरपुलले ब्राजिलियन क्लब फ्लामिङ्गोलाई १–० गोलले हरायो । लिभरपुलले फ्लेमिङ्गोलाई अतिरिक्त समयमा हराउन सफल भएको थियो ।

प्रतिस्पर्धात्मक खेलको निधारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा लिभरपुलका लागि रोबर्टो फिर्मिन्होले निर्णायक गोल गरे । रोबर्टोले ९९ औँ मिनेटमा साडियो

मानेको पासमा खाली पोस्टमा गोल गरेका थिए । यसअघि, ४७ औँ मिनेटमा रोबर्टोको प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।

लिभरपुलले दोस्रो हाफका इन्जुरी समयमा पेनाल्टीको अपिल गरेपनि भीएआरको सहायतामा दिइएको थिएन । फ्लेमिङ्गोले केही अवसर बनाएपनि गोल फर्काउन सकेन । फ्लेमिङ्गोले अधिकांश समय रक्षात्मक खेल खेलेको थियो ।

लिभरपुलले अतिरिक्त समयमा बाजी मार्दै पहिलो पटक क्लब विश्वकप उपाधि जितेको हो । कुनैपनि इङ्लिस टोलीले क्लब विश्वकपको उपाधि जितेको यो दोस्रो अवसर हो । यसअघि म्यान्चेस्टर युनाइटेडले सन् २००८ मा यो उपाधि हात पारेको थियो ।

युरोपियन टोलीले पछिल्ला १३ मध्ये १२ क्लब क्लब विश्वकपको उपाधि जितेको छ । उता, ब्राजिलियन क्लब फ्लेमिङ्गो चौथो पटक क्लब विश्वकपको उपविजेता बनेको हो । अन्य कुनैपनि टोली फ्लेमिङगो बाहेक यति धेरै पटक उपविजेता बनेको छैन ।