प्लेअफ पुग्न नपाई साविक बिजेता पोखरा पीपीएलबाट पाखा लाग्यो

जनसम्मत
पौष ८, २०७६, मंगलवार

पोखरा । साविक विजेता पोखरा पल्टन यसपालिको पीपीएलमा प्ले अफबाटै वञ्चित बनेको छ ।

पोखरा रंगशालामा जारी पोखरा प्रिमियर लिग (पीपीपएल) टी–२० क्रिकेट प्रतियोगितामा सोमबार एक्सपर्ट धनगढीसँग ५ विकेटले पराजित गर्दै पोखराले यसपालिको यात्रा टुंगाएको हो ।

झिनो ८० रनको लक्ष्य पछ्याएको धनगढीले मात्र ९.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो ।

पूरै ५ खेलमा २ जितसहित ४ अंकसाथ अंकतालिकामा पाँचौ स्थानमा रहेको धनगढीले प्ले अफ सम्भावना भने जिवित राखेको छ । धनगढी अब एलिमिनेटर खेल्न काठमाडौं र विराटनगरको मंगलबार र बुधबार हुने खेलमा भर परेको छ ।

चारै खेलमा अविजित रहँदै अंकतालिकामा शीर्ष चितवन राइनोजले मंगलबार काठमाडौसँग र तीन खेल जितेर दोस्रो स्थानको बुटवल ब्लाष्टर लिग चरणको अन्तिम खेलमा बुधबार विराटनगर टाइटन्ससँग प्रतिष्पर्धा गर्नेछ ।

चिसो मौसमबीच सोमबार टस जितेर पहिले ब्याटिङ थालेको शरद भेषवाकर कप्तानीको पोखरा पल्टन १६.३ ओभरमै अलआउट हँुदै मात्र ७९ रनमा समेटिएको थियो । उसका लागि आसिफ शेखले ३२ र विनोद भण्डारीले १२ रन बाहेक अन्य ७ ब्याट्म्यानले दोहोरो अंकको योगफल बिनै आउट भए ।

ओपनर कुशल भूर्तेल ६ रन बनाउँदै आउट हुँदा दोस्रो ब्याट्म्यानका रुपमा क्रिज आएका शेखले २९ बल सामना गर्दै ४ चौका हानेर सर्वाधिक ३२ रन बनाएका थिए ।

त्यस्तै, कप्तान शेषवाकर ४ रनमात्र बनाउन सके । उनले दीपक पुनियाको बलमा हिट विकेट लिँदै पेभेलियन फर्किए । रवि इन्दर सिंह खाता नखोल्दै क्याच आउट हुँदा कुशल मल्लले २ रन बनाए ।

धनगढीका अनिल खरेलले ३ विकेट लिँदा दीपक पुनिया, कमलसिंह ऐरी, सागर ढकालले समान २–२ विकेट लिएका थिए ।

धनगढीको जितमा दीपक पुनियाले सर्वाधिक २५ रनको योगदान दिँदा रोड्रिगो थोमसले १५, दीपकसिंह ऐरीले १३, सुभेन्दु पाण्डेले ११ रन, सन्दीप जोराले २ जोडेका थिए । मञ्जित श्रेष्ठ र अमित यादव अविजित खेले । म्यान अफ दी म्याच समेत घोषित पुनियाले १६ बलमा २ चौका र १ छक्का हान्दै २५ रन जोडेका हुन् । पोखराका लागि प्रथमेश डाके र सर्वजित लड्दाले समान २–२ विकेट झार्दा ललित राजवंशीले १ विकेट लिए ।

शनिबार हुने फाइनलमा उपाधि विजेताले २७ लाख जित्नेछन् । पहिलो संस्करणको पीपीएलमा पोखराले चितवनलाई हराउँदै उपाधि जितेको थियो ।