पोखरामा ओपन तथा भेट्रान्स टेनिस शुरु

प्रतियोगितामा पुरुष तथा महिलाको सिंगल तथा डबल्समा ३५, ४५, ५५ र ६५ बर्षमाथि सिंगल र डबल्स गरी विभिन्न १२ इभेन्टमा प्रतिस्पर्धा हुनेछन्

जनसम्मत
पौष १०, २०७६, बिहीवार

पोखरा ।  ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता बिहीबार (आज) देखि पोखरामा शुरु भएको छ ।

कास्की जिल्ला टेनिस संघले १७ औं संस्करणको ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता गर्न लागेको हो ।

यसअघिको १६ औं संस्करणसम्म भेट्रान्स टेनिस मात्रै गर्दै आएको संघले बृहत् रुपले लैजाने उद्देश्यले यस संस्करणदेखि ओपन टेनिस सहितको प्रतियोगिताको आयोजन गर्न लागेको हो ।

प्रतियोगितामा पुरुष तथा महिलाको सिंगल तथा डबल्समा ३५, ४५, ५५ र ६५ बर्षमाथि सिंगल र डबल्स गरी विभिन्न १२ इभेन्टमा प्रतिस्पर्धा हुनेछन् ।

प्रतियोगिताको ओपनतर्फ पुरुष तथा महिला सिंगलका विजेताले ५० हजार, उपविजेताले नगद २५ हजार तथा सेमिफाइनलिष्टले समान १०÷१० हजार सहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।

त्यसैगरि, पुरुष तथा महिला डबल्सतर्फको विजेताले २० हजार, उपविजेताले नगद १० हजार तथा सेमिफाइनलिष्टले समान ५÷५ हजार सहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।

३५ वर्षमाथिको एकल विजेताले ५० हजार र उपविजेताले २५ हजार सहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । ३५ वर्ष माथिको डबल्स विजेताले १५ हजार र उपविजेताले ८ हजार सहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।

४५ वर्षमाथिको एकल विजेताले २० हजार र उपविजेताले नगद १० हजार सहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । सोही उमेर समुहमा डबल्स विजेताले १५ हजार र उपविजेताले ८ हजार रुपैयाँ सहित ट्रफी पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

५५ वर्ष माथिको एकलतर्फको विजेताले २० हजार र उपविजेताले १० हजार सहित ट्रफी पुरस्कार पाउनेछन् । ६५ वर्ष माथिको विजेता र उपविजेताले ट्रफी पुरस्कार पाउनेछन् ।

प्रतियोगितालाई माछापुच्छ्रे« बैँकले मुख्य प्रायोजन गरेको छ । पोखरामा ४ दिनसम्म चल्ने प्रतियोगितालाई अखिल नेपाल टेनिस संघ, नेपाल पर्यटन बोर्ड, ट्रयाङकुलिटी स्पा लगायतले सहयोग गर्ने भएको हो ।