पोखरामा नदिपुर एमेच्योर फुटसल प्रतियोगिता शुरु

प्रतियोगिताको विजेताले ४० हजार र उपविजेताले २० हजार सहित कप, मेडल र प्रमाणपत्र, सर्वोत्कृष्ट खेलाडीले एक जोर फुटसल जुत्ता र मेडल, सर्वोत्कृष्ट गोलकीपरले एक थान ग्लोभ्स, मेडल र प्रमाणपत्र पाउनेछन्

जनसम्मत
पौष १०, २०७६, बिहीवार

पोखरा । पोखरामा दोस्रो संस्करणको नदिपुर एमेच्योर फुटसल प्रतियोगिता बिहीबार (आज) देखि शुरु हुँदैछ ।

पोखराको गणेशटोलस्थित बीएफआइटी फुटसल स्पोर्टस्मा प्रतियोगिता हुनेछ । प्रतिभा भएर पनि प्रदर्शनका लागि उपयुक्त अवसर नपाएका एमेच्योर खेलाडीहरुका लागि नदिपुर युनाइटेड क्लबले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

प्रतियोगिताको विजेताले ४० हजार र उपविजेताले २० हजार सहित कप, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक जोर फुटसल जुत्ता र मेडल तथा प्रमाणपत्र पुरस्कार पाउनेछन् । त्यस्तै, सर्वोत्कृष्ट गोलकीपरले एक थान ग्लोभ्स, मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिताको समापनका दिन शुक्रबार नेपालको राष्ट्रिय पुरुष ह्याण्डबलका कप्तान बिशाल बस्नेत, गोलकीपर बिशाल नेपाली, दिनेश श्रेष्ठ र सुरज देवकोटालाई सम्मानपत्र तथा मायाको चिनोद्वारा सम्मान गर्ने कार्यक्रम रहेको प्रतियोगिता संयोजक रबिन मानान्धरले जानकारी दिए ।

प्रतियोगितामा ३५ टिमसम्मको सहभागिता रहने प्रतियोगिता संयोजक मानान्धरले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न २ लाख ५० हजार खर्च लाग्ने आयोजकको अनुमान छ ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा सहभागी सबै खेलाडीहरु अनिवार्य एमेच्योर हुनुपर्ने क्लबले प्रावधान राखेको छ । नकआउटका आधारमा संचालन गर्ने प्रतियोगिता ८/८ गरि १६ मिनेट खेलाइनेछ । प्रतियोगितामा सहभागी सबै खेलाडीसँग अनिवार्य प्याड, फुटसल जुत्ता हुनुपर्ने आयोजकले तोकेको छ ।