आठौंं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पूरा, विभागीय क्लबको वर्चस्व, गण्डकी प्रदेश पाँचौ स्थानमा

जनसम्मत
वैशाख ४, २०७६, बुधबार

नेपालगञ्ज । नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको संपूर्ण तयारी पूरा भएको छ ।

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा हुने उक्त प्रतियोगिताको संपूर्ण तयारी पूरा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

राष्ट्रपति विद्या भण्डारीले उक्त प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले पत्रकार सम्मेलनमा बताए । विहीबार साँझ साढे पाँच बजे विविध झाँकी र मार्चपासहित राष्ट्रपति भण्डारीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उदघाटन सत्र कार्यक्रममा ५ हजार खेलाडी र प्रदेश ५ का खेलकुदकर्मीसहित ५ हजार गरी करिब १० हजारको सहभागिता हुने आयोजक खेलकुद परिषदले दाबी गरेको छ ।

यही वैशाखको ५ देखि ११ गतेसम्म नेपालगञ्जका विभिन्न स्थानमा हुने प्रतियोगितामा सातवटै प्रदेश, तीन विभागीय नेपाली सेना, नेपाल पुलिस, सशस्त्र र एनआरएनको गरी ११ टिमको सहभागिता रहेको छ ।

उक्त खेलमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियल, रेफ्री र संघ प्रतिनिधि गरी करिव ११ हजारको सहभागिता रहेको राखेपले जनाएकामे छ । उक्त प्रतियोगितामा सहभागिताका लागि ५ हजार २ सय ११ जना खेलाडीहरु ३५ वटा खेलमा सहभागिता जनाउने भएको सदस्य सचिव विष्टले जानकारी दिए ।

त्यसैगरी, अमेरिका र अष्ट्रेलिया सहित सात देशबाट पहिलो पटक सहभागी एनआरएन टिमबाट व्यक्तिगत स्पर्धामा ९ वटा खेलमा २५ जना खेलाडीहरुले सहभागिता जनाउँदै छन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता १३ औं दक्षिण एसियाली खेलकुद साग गेमको लागि तयारीसमेत रहेको सदस्य सचिव विष्टले बताए ।

उनले भने, ‘बाकेमा राष्ट्रिय प्रतियोगितामा राजधानी बाहिर १ अर्ब लगानी भएको, अध्याधुनिक भीआइपी प्यारापिट निर्माणले नेपालगञ्जको मुहार नै फेरिएको छ ।’

गत चैतको २७ गतेदेखि अनौपचारिक रुपमा शुरु भएको केही खेलहरु नेपालगञ्जलगायत कास्कीमा सम्पन्न भइसकेको छ ।

हालसम्म प्रतियोगिताको ११ वटा खेलहरु सम्पन्न भइसक्दा विभागीय टोलीको वर्चस्व रहेको छ । यो समाचार तयार पार्दासम्म प्रतियोगिताको हालसम्म ८७ स्वर्ण, ८७ रजत र १५६ कास्य गरी ३ सय ३० पदकको छिनाफानो भइसकेको छ । जसमा वीभागीय सेनाको त्रिभुवन क्लबले २५ स्वर्ण २३ रजत र १९ कास्य गरी ६७ पदकसहित अग्रस्थानमा छ ।

त्यस्तै, अर्को विभागीय नेपाल पुलिस १७ स्वर्ण, १४ रजत र १६ कास्य गरी ४७ पदकसहित दोस्रो स्थानमा छ । त्यस्तै, सशस्त्र प्रहरीको एपीएफ १२ स्वर्ण, ११ रजत र २० कास्य गरी ४३ पदकसहित तेस्रो स्थानमा छ ।

प्रदेश नं ३ खेलकुद प्रतियोगिताको चौथो स्थानमा छ । प्रदेश नं ३ ले ७ स्वर्ण ११ रजत र २९ कास्य गरी ४७ पदक हात पारेको छ । गण्डकी प्रदेश पाँचौ स्थानमा छ । गण्डकीले ६ स्वर्ण ६ कास्य १६ कास्य गरी २८ पदक हात पारेको छ ।

६ स्वर्ण ६ रजत र ४ कास्य गरी प्रदेश नं २ छैटौं स्थानमा छ । ६ स्वर्ण, ५ रजत र ११ कास्य गरी सुदुर पश्चिम प्रदेश सातौं स्थानमा छ । ४ स्वर्ण, ७ रजत र १५ कास्य गरी २६ पदकसहित प्रदेश नं ५ आठौं स्थानमा छ । ३ स्वर्ण ४ रजत र २२ कास्य गरी प्रदेश नं १ नौं स्थानमा छ ।
राष्टिय खेलकुद प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको एनआरएनले १ स्वर्ण २ कास्य गरी ३ पदकसहित दशौं स्थान छ । पदक तालिकामा कर्णाली अन्तिम स्थानमा छ । कर्णाली प्रदेशले हालसम्म २ मात्रै कास्य पदक हात पारेको छ ।

राखेप सदस्य गुरुङ र खेलाडीबीच भेटघाट

यसैबीच, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले प्रतियोगितामा सहभागी खेलाडीहरुलाई भेटेका छन् । उनले बुधबार गण्डकी प्रदेशबाट सहभागी भलिबल र ह्याण्डबलका खेलाडीसहित प्रशिक्षकलाई भेटेका छन् । गुरुङसँगको कुराकानीमा ह्याण्डबलका क्याप्टेन बिशाल बस्नेतले नेपालञ्जको यात्रा र बसाई कष्टपूर्ण भएको बताए ।