एन्फाले मोफसलको फुटबल तालिका बनायो

एन्फाले आगामी फागुन र चैतमा मोफसलका २५ वटा प्रतियोगिताको खेल तालिका बनाएको हो

जनसम्मत
पौष १०, २०७६, बिहीवार

काठमाण्डौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा हुने नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।

एन्फाले आगामी फागुन र चैतमा मोफसलका २५ वटा प्रतियोगिताको खेल तालिका बनाएको हो ।

मोफसलमध्ये सुनसरीमा ४, झापामा ३ र पोखरा, मकवानपुर, चितवन र धनगढीमा २/२ प्रतियोगिताहरु हुनेछन् । यस्तै, बुटवल, इलाम, बागलुङ, सर्लाही, वीरगञ्ज, नेपालगञ्ज, सिमरा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र काठमाडौँमा १/१ प्रतियोगिता हुने एन्फाले जनाएको छ ।

खेल तालिकाअनुसार फागुनको १ देखि १० गतेसम्म पोखरामा मनकामना गोल्डकप, झापामा सताक्षी गोल्डकप र मकवानपुरमा वागमति गोल्डकप आयोजना हुनेछन् । फागुन १५ देखि २४ गतेसम्म झापा गोल्डकप, माइभ्याली गोल्डकप र बागलुङमा मेयर कप आयोजना गरिनेछ ।

यस्तै, फागुनको २२ देखि चैतको १ गतेसम्म पोखरामा आहा रारा गोल्डकप, सर्लाहीमा राजर्षी गोल्डकप र वीरगञ्जमा विशाल मेमोरियल गोल्डकप संचालन हुनेछन् । फागुनको २९ देखि चैतको ८ गतेसम्म मकवानपुरमा मकवानपुर गोल्डकप, सुनसरीमा दुहवी गोल्डकप, धनगढीमा तेस्रो सुदूरपश्चिम गौरी गंगा गोल्डकप हुनेछन् ।

चैतकै १३ देखि २२ गतेसम्म सिन्धुपाल्चोकमा सिन्धु गोल्डकप, काभ्रे गोल्डकप र सुनसरीमा भरत गोल्डकप आयोजना गरिने एन्फाले जनाएको छ । यस्तै, फागुनको ८ देखि १७ गतेसम्म बुटवलमा तिलोत्तमा गोल्डकप, धरानमा बुढासुब्बा गोल्डकप, फागुनको २४ देखि चैतको ३ गतेसम्ममा नेपालगञ्ज गोल्डकप, चितवनमा भरतपुर गोल्डकप हुनेछन् ।

चैतको ६ देखि १५ गतेसम्म सिमरा गोल्डकप र सुनसरीमा मदन भण्डारी गोल्डकप आयोजना हुनेछन् । एन्फाले फागुनको ५ देखि १५ गतेसम्म चितवनमा राइनो गोल्डकप, फागुनको ११ देखि २२ गतेसम्म धनगढीमा खप्तड गोल्डकप, चैतको २० देखि २९ गतेसम्म एन्फा नकआउट प्रतियोगिता हुनेछ । चैतको १७ देखि वैशाख ६ गतेसम्म झापामा मेचीनगर गोल्डकप सञ्चालन गरिनेछ ।