प्रधान सेनापति महिला कपमा एपीएफको उपाधि रक्षा

फाइनलमा विभागीय डर्बी त्रिभुवन आर्मीलाई २–० ले हराउँदै एपीएफले उपाधि उचाल्यो

जनसम्मत
पौष १०, २०७६, बिहीवार

काठमाण्डौं । विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानसेनापती महिला अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।

भद्रकाली स्थित आर्मीको मुख्यालयको मैदानमा बुधबार भएको फाइनलमा विभागीय डर्बी त्रिभुवन आर्मीलाई २–० ले हराउँदै एपीएफले उपाधि उचाल्यो । उपाधिसँगै एपीएफले ३ लाख हात पा¥यो । दोस्रो भएको आर्मीले १ लाख ५० हजारमा चित्त बुझाएको छ ।

एपीएफको जितमा सरु लिम्बु र रेखा पौडेलले समान १/१ गोल गरे । खेलको छैटौं मिनेटमै सरुको गोलमा एपीएफले अग्रता बनायो । जुन अग्रता उसले पहिलो हाफसम्म कायम राख्यो । खेलको ८९ औं मिनेटमा रेखाको गोलबाट एपीएफले खेललाई २–० को स्थितिमा पु¥यायो । आर्मी खेलमा फर्कन सकेन र पराजित बन्यो ।

एपीएफकी सावित्रा भण्डारी ‘साम्बा’ प्रतियोगिताको उत्कृष्ट फरवार्ड बनिन् । अन्जली तुम्बाफो सुब्बा उत्कृष्ट गोलकिपर र जनक सिंह उत्कृष्ट प्रशिक्षक घोषित भए ।

आर्मीकी पूजा राना उत्कृष्ट डिफेन्डर र भुटानको राष्ट्रिय टोलीकी पेमा छोडेन छिरिङ उत्कृष्ट मिडफिल्डर बनिन् । उनीहरुले समान १०/१० हजार रुपैयाँ प्राप्त गरे । आर्मीकी विमला विके उदयीमान खेलाडी घोषि भइन् । उनलाई सैनिक श्रीमती संघले २५ हजार ५ रुपैयाँबाट पुरस्कृत ग¥यो । मंसिरको २९ गतेबाट सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो ।