ज्येष्ठ नागरिक केन्द्रलाई सांसद राजीव पहारीको सहयोग

गत असारमा संचालनमा आएको जेष्ठ नागरिक दिवा सेवा केन्द्रको उद्घाटनका बेला दिएको वचनअनुसार सांसद पहारीले केन्द्रलाई २४ ईञ्चको टेलिभिजन १ थान र युरोगार्ड १ थान प्रदान गरेका हुन्

जनसम्मत
पौष १०, २०७६, बिहीवार

पोखरा । गण्डकी प्रदेश सांसद राजिव पहारीले पोखरा महानगरपालिका–५, मालेपाटनस्थित जेष्ठ नागरिक दिवा सेवा केन्द्रलाई टेलिभिजन र युरोगार्ड प्रदान गरेका छन् ।

गत असारमा संचालनमा आएको जेष्ठ नागरिक दिवा सेवा केन्द्रको उद्घाटनका बेला दिएको वचनअनुसार सांसद पहारीले केन्द्रलाई २४ ईञ्चको टेलिभिजन १ थान र युरोगार्ड १ थान प्रदान गरेका हुन् ।

श्रीमती सृजना पण्डितको साथमा पुगेका सांसद पहारीले २४ हजार पर्ने युरोगार्ड र २२ हजार पर्ने टेलिभिजन जेष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष विश्वनाथ पराजुली र केन्द्रका कार्यक्रम संयोजक गजेन्द्रबहादुर खत्रीलाई हस्तान्तरण गरेका थिए ।

सहयोग सामग्री हस्तान्तरण गर्दै प्रदेश सांसद पहारीले जेष्ठ नागरिक मिलन केन्द्रले बृद्ध बुबाआमाको मुहारमा खुशीयाली छर्ने काम गरेको बताए । उनले भने, ‘जेष्ठ नागरिक मिलन केन्द्रले बृद्ध बुबाआमाहरुमा उत्साह र जाँगर छरेको छ । मुहारमा उज्यालो छाएको छ । त्यसैले, यसलाई प्रत्येक वडा र गाउँगाउँसम्म पु¥याउनुपर्छ ।’

उनले जेष्ठ नागरिक मिलन केन्द्रलाई राज्यले नै ब्यबस्थित रुपमा सहयोग र संचालन गर्न आवश्यक रहेको समेत बताए । सांसद पहारीले मातापिता भगवान भएको बताउँदै मातापिताको सम्मान र सेवा गर्न नसक्ने सन्तति बाँच्नुको अर्थ नहुने बताए ।

फरक प्रसंगमा सांसद पहारीले फेवाताल संरक्षणमा आफू ‘कि मछु्र्र कि गर्छु’ भनेर लागेको बताए । अब केही समयभित्र यसले साकार रुप लिने पहारीको भनाई थियो । साथै उनले रत्नमन्दिर र हिमागृह अब गोकर्ण रिसोर्ट बेचेर खाएजस्तो खान नसक्ने ठोकुवा गरे । जनवरी १ देखि रत्नमन्दिर र माघ १ गतेदेखि हिमागृह सर्वसाधारणका लागि खुल्ला हुने वातावरण आफू लगायतले गर्न सफल भएकाले अब बेचेर खाने अवस्थाको अन्त्य भएको उनको भनाई थियो ।