माघको दोस्रो हप्तादेखि ढोरपाटन महिला डबल लिग भलिबल शुरु

माघको १६ देखि २८ गतेसम्म हुने उक्त च्याम्पियनसीपमा विभिन्न १२ टोलीले प्रतिस्पर्धा गर्नेछन्

जनसम्मत
पौष १०, २०७६, बिहीवार

काठमाण्डौं । आगामी माघमा ढोरपाटन स्पोर्टस् क्लबको आयोजनामा १५ औँ संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसीप हुने भएको छ ।

आगामी माघको १६ देखि २८ गतेसम्म हुने उक्त च्याम्पियनसीपमा विभिन्न १२ टोलीले प्रतिस्पर्धा गर्ने काठमाण्डौंमा आयोजित पत्रकार सम्मेलमा आयोजक क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिए ।

सो च्याम्पियनसीपमा न्यू–डायमन्ड एकेडमी, टप्स मावि, बुलबुले रारा क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) छन् । त्यसैगरी पारामाउण्ट मावि, चुली युवा क्लब, चितवन टाइगर्स, थ्री–स्टार एकेडमी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र आयोजक ढोरपाटन क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले ४ लाख ५ हजार र उपविजेताले २ लाख ५ हजार पाउनेछन् । तेस्रो हुने टोलीले १ लाख ५ हजार, चौथो हुनेले ७५ हजार, पाँचौँले ५५ हजार, छैठौँले ४५ हजार तथा सातौँ हुने टोलीले ३५ हजार पाउनेछन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उदीयमान, वर्ष खेलाडी र ‘प्लेयर अफ दि सिरिज’ घोषित हुने खेलाडीले जनही एक थान स्कुटर पाउनेछन् । प्रतियोगिताको खेल नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा हुनेछ ।