सागको टिम इभेन्टमा रजत र कास्य पदकधारीलाई पुरस्कार कति दिने हो सरकार ?

सरकारले टिम इभेन्ट्सतर्फ स्वर्ण जित्नेलाई ५ लाख दिने घोषणा गरेपनि रजत र कास्य पदक जित्नेका हकमा भने पुरस्कारको घोषणा गरेको छैन । तेह्रौँ साग सकिएको दुई सातासम्म पनि सोबारे सरकारले निर्णय गरेको छैन

रासस
पौष १०, २०७६, बिहीवार

काठमाण्डौं । राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघले हालै नेपालमा सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद (साग) मा पदक जितेका खेलाडीलाई पुरस्कारको घोषणा गर्न सरकारसँग माग गरेको छ ।

सागमा टिम इभेन्टतर्फ रजत र कास्य जितेका खेलाडीका लागि हालसम्म सरकारले पुरस्कार घोषणा नगरेकाले संघले उक्त माग गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिरको २५ गते सागमा पदक विजेता खेलाडी तथा प्रशिक्षकका लागि विशेष प्याकेजको घोषणा गरेका थिए । व्यक्तिगत स्पर्धातर्फ स्वर्ण विजेता खेलाडीलाई ९ लाख, रजत विजेतालाई ६ लाख र कास्य जितेकालाई ३ लाख दिने घोषणा गरिएको थियो ।

सरकारले टिम इभेन्ट्सतर्फ स्वर्ण जित्नेलाई ५ लाख दिने घोषणा गरेपनि रजत र कास्य पदक जित्नेका हकमा भने पुरस्कारको घोषणा गरेको छैन । तेह्रौँ साग सकिएको दुई सातासम्म पनि सोबारे सरकारले निर्णय गरेको छैन ।

‘टिम इभेन्ट्सका पदक विजेताका लागि पुरस्कार तत्काल घोषणा गरी खेलाडीको मनोबल घट्न नदिन अनुरोध गर्छौं,’ संघका अध्यक्ष दीपक श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाली खेलकूदमा विगतमा पनि सरकारबाट घोषणा भएका पुरस्कार पाउन खेलाडीले लामो समयसम्म प्रतीक्षा गर्नुपरेको स्मरण गराए ।

उनले यसपटक घोषित रकम तत्काल उपलब्ध गराउन अनुरोध गरेका छन् । नेपालले १३ औँ सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित कूल २०६ पदक जितेको थियो ।