ए डिभिजन लिगमा मनाङ शीर्ष स्थानमा उक्लियो

संकटा र जाउलाखेल युथ क्लवले समान १/१ गोलको बराबरी खेल्दै समान १/१ अंक बाँडेको छ

जनसम्मत
पौष १०, २०७६, बिहीवार

काठमाण्डौं । यस सिजनको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङदीले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।

लगातार ३ खेलमा जित निकाल्दै मनाङ फेरी लिगको शीर्ष स्थानमा उक्लिएको हो । यस जितसँगै मनाङले ३ खेलबाट ९ अंक बनाएको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा मनाङले ब्रिगेड ब्वाइजलाई १–० गोल अन्तरले हरायो । मनाङको जितमा जगजित श्रेष्ठको एकमात्र गोल निर्णायक बन्यो । खेलको २५ औं मिनेटमा जगजितले मनाङका लागि गोल गरेका थिए ।

जगजितको गोलबाछ मनाङले पहिलो हाफमा १–० को अग्रता बनायो । दोस्रो हाफमा पनि मनाङले ब्रिगेड ब्याइजलाई दबाव राख्यो । तर, ब्रिगेडमाथि गोल भने थप्न सकेन । ५२ औं मिनेटमा मनाङले शुन्दर मौकालाई खेर फाल्यो ।

खेलको ७४ औं मिनेटमा मनाङ १० खेलाडीमा झर्न पुग्यो । उसका एकराज बुढाथोकीले ब्रिगेड ब्याइजका खेलाडीलाई घातक फल गरेपछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसपछि पनि अनिल गुरुङको कप्तानीमा रहेको ब्रिगेड ब्याइज खेलमा फर्कन सकेन । जारी लिगमा ब्रिगेड ब्याइजको यो दोस्रो हार हो । ब्रिगेडले ३ खेलबाट ३ अंक मात्रै बटुलेको छ ।

सकंटा–जावलाखेलको बराबरी

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार संकटा र जाउलाखेल युथ क्लवले समान १/१ गोलको बराबरी खेलेको छ । दशरथ रंगशालामा भएको खेलमा संकटाले जाउलाखेलसँग बराबरी खेल्दै समान १/१ अंक बाँडेको हो । उक्त खेलमा संकटाले एक गोलको अग्रतालाई जोगाउन नसक्दा जावलाखेलसँग अंक बाँड्न पुग्यो ।

खेलको ३६ औं मिनेटमा संकटाका लक्ष्मण रुचालले गोल गर्दै टोलीलाई अग्रता दिलाए । उनले फ्री–किकमा उत्कृष्ट गोल गरेका थिए । पहिलो हाफमा एक गोलले पछि परेको जाउलाखेलले दोस्रो हाफमा गोल फर्काउन सफल बन्यो । उसका लागि खेलको ७२ औं मिनेटमा ड्याडी जुनियरले गोल गरे । जसका कारण संकटाले बराबरी अंकमा चित्त बुझायो ।

त्यसपछि दुबै टिमबाट थप गोल भएन र संकटा बराबरीमा चित्त बुझाउन बाध्य भयो । जारी लिगमा संकटाको यो पहिलो बराबरी हो । योसँगै उसकाले तीन खेलमा चार अंक भएको छ ।