पीपीएलको फाइनलमा चितवन राइनोज र विराटनगर टाइटन्स

एलिमेनेटर राउण्डमा बुटवल ब्लाष्टरलाई नाटकीय ढंगमा २१ रनले पराजित गर्दै विराटनगरले चितवन राइनोजसँग उपाधिका लागि भेट सुनिश्चित गरेको हो

जनसम्मत
पौष १०, २०७६, बिहीवार

पोखरा । विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग (पीपीपएल) टी–२० क्रिकेट प्रतियोगिताको फाइनल पुग्न सफल भएको छ ।

एलिमेनेटर राउण्डमा बुटवल ब्लाष्टरलाई नाटकीय ढंगमा २१ रनले पराजित गर्दै विराटनगरले चितवन राइनोजसँग उपाधिका लागि भेट सुनिश्चित गरेको हो ।

बुटबलमाथि विराटनगरको यो लगातार दोस्रो जित हो । लिग चरणका खेलमा ३ जितसहित अंकतालिकामा दोस्रो रहँदै सहजै प्ले–अफ पुगेको बुटवल अघिल्लो दिनमात्रै विराटनगरसँग ६ विकेटले पराजित बनेको थियो ।

विराटनगरले फराकिलो अन्तरले नहराएको भए २ जितसहित समान ४ अंक बनाएको काठमाडौंले प्ले–अफ खेल्ने थियो । तर, विराटनगरको लागि पछिल्लो दुई दिन भाग्य चम्केको हो ।

साविक उपविजेता चितवन भने लिगका पाँचै खेलमा अपराजित रहँदै सर्वाधिक १० अंकसहित फाइनल पुगिसकेको छ । विराटनगरले लिग चरणमा बुटवलसहित पोखरा पल्टनलाई (४५ रन) ले पराजित गरी प्ले–अफ खेलेको हो । अब पारस खड्का कप्तानीको चितवन र प्रदीपसिंह ऐरी कप्तानीको विराटनगर उपाधिका लागि शनिबार फाइनल खेल्नेछन् ।

बिहीबार एलिमिनेटर खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट क्षतिमा १६५ को योगफल पारेपनि बुटवल सबै विकेट गुमाएर १४४ रनमा समेटिँदा फाइनल यात्राबाट वञ्चित बनेको हो ।

बुटवलका लागि ओपनर अफ्ताबुद्दिन अहमदले ४३ र भीम सार्कीले ४४ रनको योगदान दिए पनि हार टार्न सकेनन् । विराटनगरका ‘म्यान अफ दी म्याच’ साहव अलामले ३ विकेट झार्न सफल भए ।

चिसो मौसमबीच भएको खेलको दोस्रो इनिङको मध्यतिर खेल बुटवलको पक्षमा थियो । उसका लागि १४ ओभरसम्म ३६ बलमा आवश्यक ४५ रन भए पनि विपक्षी विराटनगरका बलर हावी भएका थिए । बुटवललाई सस्तैमा समेट्ने क्रममा आलम र पूनीत मेहराले समान ३÷३ विकेट लिएका हुन् ।

बलर आलमले ओपनर अफ्ताबुद्दिन अहमद, हर्ष टंक र सुभाष सिंहलाई आउट गर्दा मेहराको बलमा कप्तान सोमपाल कामी, अविनास बोहरा र ललितसिंह भण्डारीलाई आउट गरे । यस्तै, किशोर महतो, जितेन्द्र मुखिया र मुहम्मद जैद आलमले समान १÷१ विकेट लिएका थिए ।

बुटवलका लागि पुरन बिकले १५, सुभाष सिंहले १४ रन जोडेपनि अन्य ब्याट्म्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

जितका लागि विराटनगरले सुनिल धमलाले अर्धशतकीय इनिङ्स खेले । उनले ५४ बलमा ६ चौका र २ छक्का सहित ६१ रनको योगफल बनाए । ओपनर आलमले १३ बल सामना गर्दै २० रन बनाउँदा कप्तान ऐरीले १३ बलमै ३३ रन बनाउँदै इनिङ्स उकासे । पाँचौ नम्बरमा आएका ऐरीले ४ छक्का र एक चौका हानेका थिए ।

ओपनर आलम र सुनिल धमलाले पहिलो विकेटका लागि ३९ रनको साझेदारी खेलेका थिए । तेस्रो नम्बरमा आएका ब्याट्म्यान लोकेस बलमे १९ रन बनाए । १६ बल सामना गरेका उनले २ छक्का हानेकोमा हर्ष टंकको बलमा कप्तान सोमपालबाट क्याचआउट हुन पुगे ।

पूनीत मेहराले १९ रन तथा अविजित खेलेका मिनास थापाले २ रन बनाए । नोमन खान खाता नखोल्दै आउट भइ पेभेलियन फर्किए । बुटवलका लागि हर्ष टंकले २ विकेट लिएकोमा ललितसिंह भण्डारी र अविनास बोहराले समान १÷१ विकेट झारे ।

साविक विजेता पोखरा पल्टनसहित काठमाडौं र धनगढी लिग चरणबाटै बाहिरिएका हुन् । पीपीएलमा उपाधि विजेताले २७ लाख र उपविजेताले १० लाख जित्ने आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टले जनाएको छ ।