काविल महिलाहरुलाई अघि बढाउन नेता नेपालको आग्रह

मुस्लिम समुदायको पुस्तक विमोचन तथा वामनेत्री गजकुमारी गुरुङको बृत्तचित्र सार्वजनिक

जनसम्मत
पौष ११, २०७६, शुक्रबार

पोखरा । पूर्व प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले काविल महिलाहरुलाई अघि बढाउन आग्रह गरेकाछन् ।

नेपालका मुस्लिम समुदाय नामक पुस्तक विमोचन तथा पुनर्जागरणमा महिला अन्दोलन नामक लघु चलचित्र (अनेमसंघका केन्द्रीय सदस्य गजकुमारी गुरुङको बृत्तचित्रको सार्वजनिकीरण गर्दै नेपालले समाजका हरेक काविल (योग्य) महिलालाई अघि बढाउन आग्रह गरेका हुन् ।

‘कसैको उमेर वितेको खण्डमा समाजले योग्य महिलालाई अघि सार्नुपर्छ,’ समाजलाई नेपालले भने, ‘हरेक समुदायका महिलाहरु कुनै न कुनै हिसावले र हाम्रो सामाजिक कारणले गर्दा पछि परेका छन । अब काविल महिलाहरुलाई समाजले नै अघि बढाउनु पर्छ । सामाजिक कुरीती र सामाजिक विकृतिविरुद्ध सवै एक हुनु पर्छ ।’

नेता नेपालले सामाजिक जागरणको लागि सशक्त लेखनको आवश्यकता भएको बताए । समाजमा महिला हिंशा, बलत्कार, जिउँदै जलाउने लगायतका घटनामा महिलामाथि भएको दुव्र्यवहार मानवले नभई दानवले गर्ने गरेको नेता नेपालको दावी थियो । उनले समाजमा हुने केही अपराधिक गतिविधि गर्नेउपर कडा कारवाही गर्नुपर्ने बताए । नेता नेपालले अन्याय र अत्याचारविरुद्ध आफू सधंै निरन्तर लाग्ने प्रतिबद्धता जनाए ।

मुस्लिम समुदायमा महिलालाई पढ्न नदिने दिएपनि धार्मिक तथा मदरसा शिक्षा बाहेक अन्य शिक्षा नदिने गरेको कारण मुस्लिम समुदायका महिलाहरु पछि परेको नेता नेपालले दाबी गरे । मुस्लिम समुदायका महिलाले घुम्टो ओढ्नु पुरानो सामन्त सस्कारको अवशेष भएको उनले जनाए । उनले भने, ‘सामान्ती संस्कारलाई बोक्ने जिम्मा अब हाम्रो होइन । यसलाइ फाल्नु पर्छ ।’

नेपालका मुस्लिम समुदाय नामक पुस्तकको लेखिका एवं बृत्तचित्रका निर्देशक जैनव खातुनबारे नेपालले खुलेरै पंं्रशसा गरे । नेता नेपालले आफ्नो समुदाय भित्रको विकृति र विसंगतिविरुद्ध खरो रुपमा कलम चलाउन जैनवलाई आग्रह गरे ।

मोइन मिडिया प्रालिको आयोजनामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, लोकप्रसाद भण्डारीलगायतले बोलेका थिए ।

उक्त पुस्तकमा नेपालमा मुस्लिम समुदायको अबस्था, कला संस्कृति सहित रानीतिकको अबस्थाबारे उल्लेख गरिएको छ । नेत्री गुरुङको राजनीतिक आन्दोलन, पार्टीको कार्यालय स्थापना र उनको जीवनीबारे समेटेर बृत्तचित्र निर्माण गरिएको निर्देशक खातुनले जनाइन् ।

उक्त बृत्तचित्रमा विनिता सुनार, विष्णु पोखरेल, विजय सुवेदी, महेन्द्र पौड्याल (मनु), दिननाथ बराल, विकाश पनेरु, तानिया क्षेत्री, वजुल कमर मिया, बसन्त चालिसे, गजकुमारी गुरुङ, प्रकाश अधिकारी, प्रकाश गुरुङ, याम गुरुङ, श्रीराम सिग्देल, भानुभक्त ढकाल, गोविन्द नेपाली, सुरेन्द्र बराललगायत कलाकारको भमिकामा छन् ।