मुग्लिनको यति क्लबलाई नदीपुर फुटसल उपाधि

फाइनलमा ब्रदर्श युनाइटेड क्लब काठमाडौंलाई पेनाल्टीमा ३–२ ले पराजित गर्दै यति फुटसल क्लबले उपाधि जितेको हो

जनसम्मत
पौष ११, २०७६, शुक्रबार

पोखरा । यति क्लब मुग्लिनले नदीपुर एमेच्योर फुटसलको उपाधि जितेको छ ।

पोखराको गणेशटोलस्थित बी फिट फुटसलमा शुक्रबार भएको फाइनलमा ब्रदर्श युनाइटेड क्लब काठमाडौंलाई पेनाल्टीमा ३–२ ले पराजित गर्दै यति फुटसल क्लबले उपाधि जितेको हो । उपाधिसँगै यतिले ४० हजार, ट्रफी, मेडल र प्रमाण हात पा¥यो । उपविजेता ब्रदर्शले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पायो ।

निर्धारित १२/१२ मिनेटको खेलमा दुवैतर्फ समान १ गोल भएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो । यस्तै, ब्रदर्शका अखिलेस कार्की उत्कृष्ट खेलाडी हुँदै फुटसल जुत्ता पाए भने यतिका अशोक तामाङ उत्कृष्ट गोलकीपर हुँदै फुटसल ग्लोब जिते ।

हाम्रो फुटबल क्लबले फेयर प्लेको उपाधि हात पा¥यो । २ दिनसम्म चलेको प्रतियोगितामा ३० टिमको सहभागिता थियो । सुमन कार्की फाइनलको ‘म्यान अफ दी म्याच’ बने ।

विजयीलाई पोखरा ३ का वडाध्यक्ष रवीन्सन प्रजु, कास्की जिल्ला फुटसल संघ अध्यक्ष सञ्जय लिगल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी महासचिव विजय नेपाल, प्रतियोगिता संयोजक रोविन मानन्धरलगायतले पुरस्कार वितरण गरेका थिए ।

‘स्वास्थ्यका लागि फुटसल’ नाराका साथ भएको प्रतियोगिताको मुख्य–प्रायोजक अर्जुन गुरुङ हुन् । सो अवसमा ह्याण्डबल खेलाडी विशाल बस्नेत, दिनेश श्रेष्ठ, सुरज देवकोटा र विशाल नेपालीलाई सम्मान गरिएको क्लब सचिव सरोज जलारीले बताए । पोखरा–३, नदीपुरस्थित युनाइटेड क्लबले दोस्रो नदीपुर एमेच्योर फुटसल टुर्नामेन्टको आयोजना गरेको हो ।