ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पामाथि आर्मीको जित

आर्मीले हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको हो, जितसँगै आर्मीले ३ खेलमा ५ अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

जनसम्मत
पौष ११, २०७६, शुक्रबार

काठमाण्डौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा विभागीय आज भएको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको हो । जितसँगै आर्मीले ३ खेलमा ५ अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

यसअघि, आर्मीले पहिलो खेलमा फ्रेन्डस क्लबलाई २–१ गोल अन्तरले हराएको थियो । दोस्रो खेलमा मनाङ मस्र्याङदी क्लबसँग १–० ले पराजित भएको थियो । आर्मीको जितमा कप्तान भरत खवास र टेकबहादुर बुढाथोकीले १/१ गोल गरे ।

खेलको दोस्रो हाफको ६० औँ मिनेटमा हिमालयन शेर्पाका डिफेन्डर आशिष गुरुङ र गोलरक्षक किशोरलाई बिट गर्दै कप्तान भरतले गोल गरेका थिए । त्यसैगरी खेलको ६४ औँ मिनेटमा टेकबहादुरले आर्मीका लागि विजयी गोल गरे । खेलमा आर्मीका भरत खवास ‘म्यान अफ दी म्याच’ चुनिए ।

पराजित हिमालयन शेर्पाले ३ खेलमा दुई अंक जोडेको छ । शेर्पा लिगको १० औँ स्थानमा छ । शेर्पाले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी तथा दोस्रो खेलमा एपीएफसँग १–१ गोलको बराबरी खेलेको थियो ।

पुलिससँग सरस्वती स्तब्ध

त्यस्तै, सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार नै भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।

शुक्रबार दशरथ रंगशालामा भएको खेलमा पुलिसले सरस्वती युवा क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरी भएकोमा पुलिसले दुवै गोल दोस्रो हाफमा गरेको हो ।

दोस्रो हाफ पुलिस १० खेलाडीको भरमा खेल्न पुगेको थियो । पहिलो हाफको अतिरिक्त समयमा अन्जन राई दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिए । सरस्वतीका दिनेश केसीलाई ३३ औं मिनेटमा फल गरेपछि पहिलो पहेँलो कार्ड पाएका अन्जन राई पहिलो हाफको इन्जुरी समयमा सरस्वतीका पूर्णबहादुर श्रेष्ठलाई फल गरेपछि दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाडे ।

१० खेलाडीमा सीमित भएको पुलिसले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थियो । सुमन लामाले रवि पासबानको पासलाई सदुपयोग गर्दै ४६ औं मिनेटमै पुलिसलाई अग्रता दिलाए ।

६१ औं मिनेटमा पासवानलाई रिप्लेस गर्दै मैदान प्रवेश गरेका भोलानाथ सिलवालले ७९ औं मिनेटमा गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाए । सरस्वतिमाथिको जितसँगै पुलिसले स्पष्ट ३ अंक थप्दै ४ अंक सहित तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । पराजित भएको सरस्वती पुछारमा छ । उक्त खेलमा पुलिसका सुमन लामा केल्मी ‘म्यान अफ दी म्याच’ बने ।