अध्यक्ष प्रचण्डद्वारा निर्माणाधीन क्रिकेट रंगशालाको अवलोकन

‘रंगशालाको कामले गति लिएकोमा उत्साहित भएको छु,’ उनले भने, ‘समयमै सम्पन्न गर्नेगरी गुणस्तरीय काम गर्नुहोस्, हामी तपाँईंकै साथमा छौँ ’

रासस
पौष ११, २०७६, शुक्रबार

भरतपुर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अवलोकन गरेका छन् ।

शुक्रबार बिहान रंगशालाको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले पार्टी र सरकारले रंगशाला निर्माणमा सहयोग गर्ने बताए ।

‘रंगशालाको कामले गति लिएकोमा उत्साहित भएको छु,’ उनले भने, ‘समयमै सम्पन्न गर्नेगरी गुणस्तरीय काम गर्नुहोस् । हामी तपाँईंकै साथमा छौँ ।’

उनले रंगशाला राष्ट्रिय गौरवको आयोजना भएको बताउँदै सफल बनाउन सबै देशवासी लाग्नुपर्ने बताए । रंगशालाको स्थलगत अवलोकनपछि निर्माणको गतिले तीव्रता पाएकोमा आफू खुशी भएको उनले प्रतिक्रिया दिए ।

सबै जिल्लामा सहयोग समिति गठन गरेर रङ्गशाला निर्माणमा सहयोग जुटाउन अध्यक्ष प्रचण्डले आग्रह गरे । उनले सबै चितवनवासीलाई मन फुकाएर सहयोग गर्न पनि आह्वान गरे ।

सो अवसरमा धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रंगशाला निर्माणमा भएको प्रगति र गुरुयोजनाबारे अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए । सो अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायत उपस्थित थिए ।