अनुभवीविरुद्ध युवा जोसको पीपीएल–२ को फाइनल आज

पीपीएल–२ को उपाधि होडमा चितवन र विराटनगर

नारायण शाही
पौष १२, २०७६, शनिबार

पोखरा । चितवन राइनोज र विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग (पीपीपएल) टी–२० क्रिकेट प्रतियोगिता को उपाधिका लागि आज (शनिबार) आमने–सामने हुँदैछन् ।

दोस्रो संस्करणको पीपीएल उपाधि कस्ले आफ्नो पोल्टामा पार्ने हुन् ? त्यसको लागि आज (शनिबार) पोखरा रंगशालामा हुने फाइनलको नतिजासम्म कुर्नुपर्नेछ ।

यद्यपि, प्रि­–फाइनल कन्फरेन्समा दुवै टिमका क्याप्टेनले जित आफ्नो पक्षमा आउने दाबी गरेका छन् ।

लिग चरणका सबै ५ खेलमा अपराजित रहँदै पारस खड्का कप्तानीको चितवन फाइनल स्थान सुरक्षित पारेको हो भने एलिमिनेटर राउण्डमा बुटवल ब्लाष्टरलाई पन्छाउँदै प्रदीपसिंह ऐरी कप्तानीको विराटनगर उपाधि नजिक पुगेको हो ।

चितवनका कप्तान पारस खड्काले जसरी यसअघिका खेल खेल्दै आएका छांै, त्यसैगरी फाइनल खेलेर यसपालि उपाधि जित्ने दाबी गरे । उनले आफ्नो टिम बलियो भएर नै सिधैँ फाइनल पुग्न सफल भएको बताए ।

उता, विराटनगरका कप्तान प्रदीपसिंह ऐरीले खेल कस्तो हुन्छ भन्नेबारे खेलले नै बताउने जनाए । उनले भने, ‘जसले राम्रो खेल्यो, उसले जित्छ ।’ उनले अघिल्ला दिनका गल्तिहरु कमी गर्दै फाइनल खेल्ने बताए ।

उनले पहिलोपल्ट कप्तानी सम्हालेको विराटनगर लिग चरणका मात्र २ खेल जित्दै लिग तालिकामा तेस्रो स्थानमा रहेर प्ले–अफ यात्रा तय गरेको थियो । विराटनगरले बुटवललाई एलिमिनेटर राउण्डमा २१ रनले हराएको थियो ।

चितवनले साविक विजेता पोखरालाई (६ विकेट), बुटवललाई (११९ रन), धनगढीलाई (५२ रन), विराटनगरलाई (१८ रन) र काठमाडौंलाई (६० रन) ले पराजित गर्दै १० अंकका साथ शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । यसपालि सर्वाधिक रन बनाउने ब्याट्म्यानमा उत्कृष्ट १० मा ३ जना चिवतनकै छन् ।

पहिलो संस्करणमा भने चितवन घरेलु टोली पोखरा पल्टनसँग ३ विकेटले स्तब्ध बन्दै उपाधिबाट वञ्चित बनेको थियो ।

यसपालि उपाधि विजेताले २७ लाख र उपविजेताले १० लाख जित्ने आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टले जनाएको छ ।

तस्वीर : विजय नेपाल/सुरज शाक्य