नेतृत्व गर्न महिला सक्षम छन् : उपप्रमुख मञ्जुदेवी

पोखरा महानगरपालिका–२३ स्थित प्रभावकारी महिला विकास बचत तथा ऋण सहकारी संस्थाको १८ औ साधारणसभा तथा ९ औ अधिवेशन

जनसम्मत
पौष १२, २०७६, शनिबार

पोखरा । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले घर ब्यवहार चलाउने महिलाहरु राष्ट्र चलाउन सक्षम रहेको दावी गरेकी छन् ।

पोखरा महानगरपालिका–२३ स्थित प्रभावकारी महिला विकास बचत तथा ऋण सहकारी संस्थाको १८ औ साधारणसभा तथा ९ औ अधिवेशनको उद्घाटन गदै उनले महिलाहरुले अवसर प्राप्त गरे नेतृत्व गर्न सक्छन भन्ने प्रमाणित गरेको बताइन् ।

‘महिलालाई जिम्मेवारी अख्तियार दिए वहन गर्न सक्छन्,’ उनले भनिन, ‘राष्ट्रप्रमुख, प्रधानन्यायाधीश, सभामुख भएर कुशलतापूर्वक महिलाले नेतृत्व गरिसकेका छन् । उनीहरुले महिलाहरु पनि कमजोर छैनन भन्ने पुष्टि गरिसकेका छन् । त्यसैले अव महिलाहरु घरभित्रको काममा सीमित हुनुहुदैन् । नेतृत्व लिन अग्रसर हुनुपर्छ । त्यसका लागि पुरुषहरुले सहयोग गर्नुपर्छ ।’

उपप्रमुख गुरुङले महिलाहरु सशक्तिकरण हुनुपर्नेमा जोड दिदै समाज परिर्वतनका लागि महिलालाई अगाडि बढाउने जिम्मेवारी र दायित्व पुरुषको पनि भएको बताइन् ।

उपप्रमुख गुरुङले सहकारीहरुले महिलाहरुलाई आर्थिक रुपमा सवल र सक्षम बनाउने तर्फ ध्यान दिनुपर्नेमा जोड दिइन् । उनले सहकारीहरुले नाफा गर्ने र शेयर बाँडने भन्दा स्वरोजगार बनाउदै उत्पादनतर्फ ध्यान दिनुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, ‘सहकारीहरु आफनो ऐन कानुन र विधिभित्र रहेर सञ्चालन हुनुपर्छ । सहकारी अर्थतन्त्रको आधारस्तम्भ हुन् । पोखरा महानगरले सहकारीसँग सहकार्य गरेर जान एक सहकारी एक उत्पादनको अवधारणा ल्याएको छ ।’

कार्यक्रममा सहकारीका ज्येष्ठ सदस्य बसन्धरी पराजुली, उत्कृष्ट बचतकर्ता जगमाया गुरुङ लगायतलाई सम्मान गरिएको थियो ।