चितवन राइनोज पीपीएल–२ को च्याम्पियन

राइनोजले विराटनगर टाइटन्सलाई ३२ रनले हराउँदै यस सिजनको पीपीएल उपाधि उचाल्यो, करण, ज्ञानेन्द्र र रोहनलाई टीभीएस मोटरसाइकल

जनसम्मत
पौष १२, २०७६, शनिबार

पोखरा । चितवन राइनोज यस सिजनको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटको च्याम्पियन बनेको छ ।

विराटनगर टाइटन्सलाई ३२ रनले हराउँदै चितवन राइनोजले पीपीएल–२ को उपाधि उचालेको हो ।

यस सिजनको पीपीएल–२ को समूह चरणका सबै खेल जित्दै फाइनल पुगेको पारस खड्काको कप्तानीमा खेलेको चितवनले उपाधिसँगै नगद २७ लाख रुपैयाँ समेत हात पारेको छ । उपविजेता, विराटनगर टाइटन्सले १० लाख रुपैयाँमा चित्त बुझायो ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा २०३ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ७ विकेटको नोक्सानीमा १७० रन मात्रै जोड्न सक्यो । विराटनगरका लागि मुहम्मद जैद आलमले सर्वाधिक ५७ तथा प्रदीपसिंह ऐरीले ३६ रनको मात्रै योगदान दिए ।

बलिङतर्फ चितवनका करण केसीले ३, सन्नि पटेलले २ र रोहन मुस्तफाले समान १ विकेट लिए ।

यसअघि, चितवनले निर्धारित ओभरमा ५ विकेट गुमाएर २०२ रन बनाएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको चितवनले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा ठूलो लक्ष्य दिन सफल भएको थियो ।

पहिलो विकेटका लागि रोहन मुस्तफा र पारस खड्काले ३६ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुपमा पारस २५ रन बनाएर आउट भएका थिए । ११ बल फेस गरेका पारसले ४ चौका र १ छक्का प्रहार गरेका थिए ।

पारसपछि क्रिजमा आएका बाबर हायात भने धेरै बेर क्रिजमा टिक्न सकेनन् । बाबर ६ रन बनाएर आउट हुँदा चितवनले ४५ रनमा २ विकेट गुमाउन पुग्यो । त्यसपछि अनिल शाहसँग रोहन मुस्तफाले ९५ रनको साझेदारी गर्दै चितवनको स्कोर १४० मा पु¥याएका थिए ।

तेस्रो विकेटको रुपमा शाह आउट हुँदा उनले अर्धशतक बनाएका थिए । शाहले ३४ बलमा ३ छक्का र ३ चौकाको मद्दतले ५० रन बनाए । १४२ रन हुँदा चौथो विकेट गुमाउँदा रोहन मुस्तफा पनि व्यक्तिगत ५० रनमा आउट भए ।

१९ रन जोडेका आरिफ शेख पाँचौं विकेटको रुपमा आउट हुन पुगेका थिए । आरिफ शेखले ११ बलमा २ छक्का र १ चौका प्रहार गरे । त्यसपछि सन्नी पटेल र करण केसीले चितवनको इनिङ्स अघि बढाएका थिए ।

करणले पनि ८ बलमा २ छक्का र २ चौकाको मद्दतले २६ रन जोडे । सन्नी पटेलले ८ बलमा २ चौकाको मद्दतले १६ रन बनाए । विराटनगरका लागि पूनीत मेहरा र मोहम्मद जइद आलमले २/२ विकेट लिए । किशोर महतोले १ विकेट हात पारे ।

करण, ज्ञानेन्द्र र रोहनलाई टीभीएस मोटरसाइकल

 

यस सिजनको नमस्ते पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा करण केसी उत्कृष्ट बलर घोषित भए ।

उनले १३ विकेट लिएका थिए । उत्कृष्ट व्याट्सम्यान काठमाडौं गोल्डेन्सका ज्ञानेन्द्र मल्ल र ‘म्यान अफ दी सिरिज’बाट चितवन राइनोजका रोहन मुस्तफा घोषित भए ।

उनीहरु सबैले टीभीएस मोटरसाइकल पुरस्कार पाए । ‘मोष्ट भ्यालुएबल प्लेयर’ विराटनगर टाइटन्सका लोकेश बम घोषित भए । उनले नगद १ लाख रुपैयाा पाए । इमर्जिङ प्लेयरबाट एक्सपर्ट धनगढी ब्लुजका अनिल खरेल घोषित हुदैं नगद ५० हजार हात पारे ।

तस्वीर : सुरज शाक्य