राष्ट्रपति भण्डारीद्धारा आठौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन

नेपालगञ्जमा खेलकुदको कुम्भ मेला

जनसम्मत
वैशाख ६, २०७६, शुक्रबार

नेपालगञ्ज । राष्ट्रपति बिद्यादेवी भण्डारीले आठौं संस्करणको खेलकुद प्रतियोगिताको उद्घाटन गरेकी छन् ।

विहीबार साँझ नेपालगञ्जको नव निर्मित रंगशालामा आयोजित भव्य समारोहबीच राष्ट्रपति भण्डारीले आठौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता शुरु भएको घोषणा गरिन् ।

कर्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले खेलकुदको विकास गर्न स्थानिय तहबाटै लाग्नु पर्ने बताइन् । खेलकुदका कार्यक्रममा बिद्यालयस्तरबाटै बिद्यार्थीहरुलाई समेट्नुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिइन् । राष्ट्रयपति भण्डारीले राज्यको सिमित श्रोतसाधनका बाबजुत पनि खेल क्षेत्रमा लगानी गर्दै आएको उल्लेख गरिन् ।

‘राज्यले खेलकुद क्षेत्रमा भएको सिमित श्रोतसाधन परिचालन गरेकै छ, राष्ट्रपति भण्डारीले अगाडि थपिन्, ‘उपलब्ध श्रोतसाधनलाई अधिक रुपमा प्रयोग गरी हामीले हाम्रो खेलकुदको विकास गर्नुपर्ने हुन्छ ।’

एनले शारीरिक स्वस्थ्यको लागि र राष्ट्रको गौरवको लागि खेलकुद आवश्यक भएकोमा जोड दिइन् । राष्ट्रपति भण्डारीले नेपालमा धेरै खेल पर्यटनको सम्भावना भएको समेत औंल्याइन् ।

उद्घाटन सत्रमा विभिन्न स्थानीय साँस्कृतिक झाँकीसहित सहभागी सातवटै प्रदेश, तीन विभागीय र एनआरएनका खेलाडी, अफिसियल, प्रशिक्षकहरुले मार्च पास गरेका थिए । प्रतियोगिताको उद्घाटन बेलुकी ६ बजे हुने भनिएपनि राष्ट्रपति भण्डारी आधा घण्टा ढिलो नेपालगञ्ज रंगशालामा पुगेकी थिइन् ।

पुरुषतर्फको ह्याण्डबलमा गण्डकीको जित

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत विहीबारबाट पुरुषतर्फको ह्याण्डबल खेल शुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले नेपालगञ्ज रंगशालामा खेलको प्रतियोगिताको उद्घाटन गरेका हुन् । तिमिल्सिनाले मुख्य रेफ्री पदम विश्वकर्मालाई बल हस्तान्तरण गरी खेलको उद्घाटन गरे ।

उद्घाटन खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ४०–१५ को फराकिलो गोल अन्तरले हरायो । उक्त खेलमा कर्णालीका केशव बिष्टले सर्वाधिक ११ गोल गरे । गण्डकीको तर्फबाट विशालले ८ गोल गरे ।

विहीबार नै भएको पुरुषतर्फको दोस्रो ह्याण्डबल खेलमा विभागीय नेपाली सेनाको त्रिभुवन क्लबले क्षेत्र नं ५ लाई ४२–१७ गोलले जित हात पा¥यो ।

विहीबार नै महिलातर्फ दुई खेल सम्पन्न भएका छन् । बाकेको जिल्ला प्रशासन कार्यलय परिसरमा भएको महिलाको उद्घाटन खेलमा नेपाली सेनाले ३ नं प्रदेशलाई ३१–४ गोलले हरायो । त्यस्तै, महिलातर्फकै दोस्रो खेलमा प्रदेश नं ५ ले कर्णाली प्रदेशलाई १०–७ गोलले हरायो ।

शुक्रबार, महिलातर्फ ५ खेल हुने ह्याण्डबल संघले जनाएको छ । शुक्रबार बिहान प्रदेश नं ५ विरुद्ध गण्डकी प्रदेश र नेपाली सेनाविरुद्ध कर्णाली प्रदेश भिड्नेछ । दिउँसो सुदुर पश्चिम प्रदेशविरुद्ध प्रदेश नं २, विभागीय सशस्त्रको एपीएफविरुद्ध प्रदेश नं १ र प्रदेश नं ३ विरुद्ध गण्डकी प्रदेश भिड्ने ह्याण्डबल संघले जनाएको छ ।

समुह ए मा गण्डकी प्रदेशसहित नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश प्रदेश नं ५ छन् ।
पुरुषतर्फको ह्याण्डबलमा ९ टिमको सहभागिता छ । नेपाल प्रहरीको विभागीय टिमले यस संस्करणको प्रतियोगितामा सहभागिता जनाएको छैन ।

प्रतियोगिताको उद्घाटन गर्दै राखेप उपाध्यक्ष तिमिल्सिनाले शिक्षा, स्वास्थ्य र खेलकुदका पूर्वाधारहरुलाई प्रदेशमा लैजान आग्रह गरे । यसअघि, समय समयमा सरकार परिवर्तन भएका कारण खेलकुद क्षेत्रमा सोंचे अनुसार विकास हुन नसकेको तिमिल्सिनाको भनाई थियो ।
‘राष्ट्रिय खेलकुद प्रतियोगिता राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पनि खेलाडी उत्पादन गर्ने यस अवसरमा खेलाडीहरुले राम्रो प्रदर्शन गर्न आवश्यक छ,’ उनले भने, ‘हाल स्थायी सरकार भएकाले परिषदले राष्ट्रियस्तरमै खेलकुदको उपयोगिता र लगानी बढाएका छौं ।’

पदक तालिकामा विभागीय क्लबकै वर्चस्व

नेपालगञ्जमा शुरु आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय क्लबहरुकै वर्चस्व कायम छ ।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पदक तालिकामा अग्रस्थानमा छ । सेनाले विहीबारसम्म नेपाली सेना ३४ स्वर्णसहित १७ रजत, २४ कास्य गरी ८५ पदक हात पारेको छ ।

त्यस्तै, दोस्रो स्थानमा विभागीय नेपाल पुलिस क्लब १९ स्वर्ण, १७ रजत र १७ कास्यसहित कूल ५३ पदक हात पारेको छ । अर्को विभागीय सशस्त्रले १५ स्वर्ण, १२ रजत र १७ कास्यसहित ५३ पदक जितेको छ ।

प्रदेश नं ३ अंक तालिकाको चौथो स्थानमा छ । प्रदेश ३ ले ७ स्वर्ण, १३ रजत र ३२ कास्य गरी ५० पदक हात पारेको छ । गण्डकी प्रदेशले पाँचौ स्थानमा आफूलाई कायमै राखेको छ । गण्डकीले ६ स्वर्ण, ७ रजत र १९ कास्य गरी ३२ पदक जितेको छ ।

प्रदेश नं २ पदक तालिकाको छैटौं स्थानमा छ । उसले ६ स्वर्ण ६ रजत र ५ कास्य गरी १७ पदक जितेको छ । सुदुर पश्चिम प्रदेश पदक तालिकाको सातौं स्थानमा छ । उसले ६ स्वर्ण ५ रजत र ११ कास्य गरी २२ पदक जितेको छ ।

आयोजक प्रदेश ५ पदक तालिकाको आठौं स्थानमा छ । प्रदेश ५ ले ४ स्वर्ण, ८ रजत र २१ कास्य गरी ३३ पदक हात पारेको छ ।
प्रदेश नं १ पदक तालिकाको नवौं स्थानमा छ । प्रदेश नं १ ले ३ स्वर्ण, ५ रजत र २५ कास्य गरी ३३ पदक जितेको छ । कर्णाली प्रदेश अंक तालिकाको १० औं स्थानमा छ । कर्णालीले २ स्वर्ण, १ रजत र २ कास्य गरी ५ पदक जित्न सफल भएको छ । कर्णालीले बिहीबार २ स्वर्ण र १ रजत जित्न सफल भएको हो । १ स्वर्ण र २ कास्य गरी एनआरएन पदक तालिकाको अन्तिममा छ ।