मनमोहन मेमोरियल कप एक दिवसीय राष्ट्रिय क्रिकेटमा आर्मीको विजयी शुरुवात

आर्मीले दिएको २ सय ८२ रनको लक्ष्य पछ्याएको एपीएफ ३९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७३ रनमा समेटियो

जनसम्मत
पौष २१, २०७६, सोमबार

पोखरा । विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबले मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

सुनसरीको इनरुवामा आइतबार भएको खेलमा अर्को विभागीय क्लब एपीएफलाई १ सय ८ रनले पराजित गर्दै आर्मीले सुखद सुरुवात गरेको हो ।

आर्मीले दिएको २ सय ८२ रनको लक्ष्य पछ्याएको एपीएफ ३९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७३ रनमा समेटियो । एपीएफका लागि पृथु बास्कोटाले सर्वाधिक ३६ रन जोड्दा शंकर रानाले ३२ रन बनाए ।

यस्तै, सुमित महर्जन र सन्दीप जोराले समान २३/२३ रन जोड्दा कप्तान बसन्त रेग्मीले १७ रनको मात्रै योगदान दिए । आसिफ शेख र अमरसिंह रौटेला खातै नखोली आउट बने । आर्मीका शाहब आलमले ४ तथा कुशल मल्लले २ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ४६ ओभरमा अल आउट हुँदै २ सय ८१ रन बनाएको थियो । आर्मीको फराकिलो जितमा कुशल मल्लले शतकीय इनिङ्स खेले । कुशलले ६३ बलमा १३ छक्का र ५ चौकासहित १ सय ११ रन बनाए । कुशल जारी प्रतियोगितामा शतक बनाउने पहिलो खेलाडी समेत हुन् ।

यस्तै, अनिल मण्डलले ४१, राजेश पुलामी मगरले ३८, रोहितकुमार पौडेलले १४ रनको योगदान गरे । एपीएफका बसन्त रेग्मीले ४ विकेट लिए । यस्तै अमरसिंह रौटेलाले २ तथा प्रदीप ऐरी, सुर्य तामाङ र अबिनास बोहराले समान १/१ विकेट लिए ।

जितसँगै समूह ‘ए’ को आर्मीले पहिलो खेलमा २ अंक जोडेको छ । आर्मीले सेमिफाइनल पुग्ने सम्भावना समेत बलियो बनाएको छ ।

प्रतियोगिता अन्तर्गत सोमबार एपीएफ र स्थानीय टिम मनमोहन मेमोरियल क्रिकेट सेन्टरबीच खेल हुनेछ ।