एमएमसी कप क्रिकेटमा विभागीय एपीएफको जित

सेमिफाइनल प्रवेशको संभावना जीवितै राख्न जित्नैपर्ने खेलमा एपीएफले आयोजक एमएमसी इनरुवालाई ८३ रनले पाखा लगायो

जनसम्मत
पौष २२, २०७६, मंगलवार

पोखरा । मनमोहन मेमोरियल एमएम कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफले महत्वपूर्ण जित निकालेको छ ।

सेमिफाइनल प्रवेशको संभावना जीवितै राख्न जित्नैपर्ने खेलमा एपीएफले आयोजक एमएमसी इनरुवालाई ८३ रनले पाखा लगायो ।

विभागीय एपीएफले प्रस्तुत गरेको २ सय ५ रनको लक्ष्य पछ्याएको आयोजक एमएमसी ३६ दशमलव २ ओभरमा अल आउट हुँदै १ सय २१ रनमा समेटिएपछि एपीएफले महत्वपूर्ण २ अंक हात पा¥यो ।

आयोजकलाई सस्तैमा समेट्ने क्रममा एपीएफका सूर्य तामाङले ४ र बसन्त रेग्मीले ३ विकेट लिए । यज्ञमान कुमालले २ र अमरसिङ रौटेलाले १ विकेट लिए । आयोजक एमएमसीका लागि रबि रोयले सर्वाधिक २६ रन बनाए । रुपेश श्रीवास्वले टिमका लागि २३ रन बनाए । विवेक मेहताले १५ रन बनाउँदा अन्य ब्याट्सम्यान भने एपीएफका वलरसामु निरिह बने ।

इनरुवा रंगशालामा जारी प्रतियोगिता अन्र्तगत सोमबारको खेल खराब मौसमका कारण ४५ ओभरमा छोट्याइएको थियो । खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको एपीएफले सुमित महर्जनको अर्धशतकीय पारीमा २ सय ४ रनको सम्मानजनक स्कोर खडा गरेको थियो ।

४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाएको एपीएफका लागि महर्जनले ८३ रनको योगदान गरे । एपीएफका शंकर रानाले ३६, प्रदीप एैरीले १९, सन्दीप जोरा र बसन्त रेग्मीले समान १२/१२ र पृथु बास्कोटाले ५ रन जोडे ।

आयोजक एमएमसीका लागि ९ ओभर वलिङ गरेका कप्तान सरोज बस्नेतले १ मेडन सहित ३९ रन खर्चेर ४ विकेट लिएका थिए । त्यसैगरी सोनु मण्डल र अल्फाज मन्सुरीले समान २/२ विकेट लिए । एपीएफका सुमित महर्जन प्रतियोगिताको ‘म्यान अफ दी म्याच’ घोषित भए ।

समूह ‘ए’ को पहिलो खेलमा पराजित एपीएफ आइतबारको पहिलो जितसँगै आर्मीसँगै समान २ अंकका साथ रनरेटका आधारमा अंक तालिकाको दोस्रो स्थानमा छ । आज (मंगलबार) आयोजक एमएमसी र आर्मीबीचको खेल हुनेछ । उक्त खेलको नतिजाले सेमिफाइनलमा पुग्ने दोस्रो टिमको टुङ्गो लाग्नेछ ।