ए डिभिजन लिगमा एनआरटी र जावलाखेलले अंक बाँड्यो

दोस्रो खेलमा मनाङ मस्र्याङदी र मच्छिन्द्रले २–२ को बराबरी खेलेका छन्

जनसम्मत
पौष २२, २०७६, मंगलवार

काठमाण्डौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार भएको खेलमा न्यूरोड टिम एनआरटी र जावलाखेल युथ क्लवले बराबरी खेल्यो ।

प्रतिस्पर्धात्मक खेलमा निधारित समयभित्र दुवै टिमले बराबरी खेल्दै १/१ अंक बाँडे ।

सोमबार दिउँसो दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले पाएको अवसरलाई सदुपयोग गर्दै आफूलाइ अब्बल सावित गर्न नसक्दा फराकिलो अंक बनाउन रोकिए । उक्त खेलमा जावलाखेलका कुलदिप कार्की ‘म्यान अफ दी म्याच’ बने ।

सोमबारको यो खेल सहित ५ खेल खेलेको जावलाखेलले २ जित र ३ बराबरी खेल्दै ९ अंक जोडेको छ । एनआरटीले पनि ५ खेलबाट २ जित, १ बराबर र २ हारसहित ५ अंक जोडेको छ ।

मनाङ र मच्छिन्द्रले पनि बराबरी खेल्यो

सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सोमबार भएको दोस्रो खेलमा मनाङ मस्र्याङदी र मच्छिन्द्रले २–२ को बराबरी खेलेका छन् । मनाङले खेलको दोस्रो मिनेटमै अग्रता बनाएको थियो ।

मनाङका लागि फेमी जोसुवाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा भने मच्छिन्द्रका सुजल श्रेष्ठले शुरुमै गोल गर्दै खेल बराबरीमा पु¥याए । दोस्रो हाफको अन्त्यतिर मच्छिन्द्रले खेलमा दबाब बढाएको थियो ।

८१ औं मिनेटमा सोमिडेले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए । तर, मनाङका बिमल रानाले गोल गर्दै खेल बराबरीमा ल्याए ।

बराबरी खेलेसँगै मनाङले ११ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा कायम छ । मच्छिन्द्र १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।