मनाङ–मच्छिन्द्रका ६ खेलाडी कारवाहीमा

मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई ५/५ खेल तथा रञ्जन विष्टलाई २ खेलमा प्रतिबन्ध लगाएको छ, यस्तै मच्छिन्द्रका विजय धिमाल, दीपक राई र देवेन्द्र तामाङलाई २/२ खेलमा प्रतिबन्ध लगाइएको छ

रासस
पौष २८, २०७६, सोमबार

काठमाण्डौं । मैदानमा खेल खेल्ने क्रममा झगडा गरेपछि मच्छिन्द्र र मनाङका ६ खेलाडीहरु कारवाहीमा परेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मच्छिन्द्र क्लब र मनाङ मस्र्याङ्दीका खेलाडीमाथि प्रतिबन्ध लगाएको हो । एन्फाको अनुशासन समितिले मच्छिन्द्र र मनाङका ६ खेलाडीलाई कारवाही गरेको हो ।

मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई ५/५ खेल तथा रञ्जन विष्टलाई २ खेलमा प्रतिबन्ध लगाएको छ । मच्छिन्द्रका विजय धिमाल, दीपक राई र देवेन्द्र तामाङलाई २/२ खेलमा प्रतिबन्ध लगाइएको छ ।

यस्तै जगजित र अशोकलाई जनही १० हजार जरिवाना गरिएको एन्फाले जनाएको छ । मनाङका किट्स म्यानेजर शिव लामालाई लिगका सबै खेलमाथि प्रतिबन्ध लगाउँदै १० हजार जरिवाना गरेको छ ।

यसैगरि, आ–आफ्ना टोलीका खेलाडीलाई अनुशासनमा राख्न नसकेकामा मच्छिन्द्र र मनाङ क्लबलाई ५० हजार जरिवाना गरिएको एन्फाको वेबसाइटमा उल्लेख छ । डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलमा दुवै क्लबले २–२ गोलको बराबरी खेलेका थिए ।

खेल सकिएलगत्तै दुवै टोलीका खेलाडी दशरथ रंगशालाको खेल मैदानमा झगडा गर्न पुगेका थिए । यस क्रममा खेलाडीबीच हात हालाहाल भएको थियो । उनीहरुलाई प्रहरीको सहयोगमा मैदानबाट बाहिर निकाल्नुपरेको थियो ।