राष्ट्रिय महिला भलिबल कपको सेमिफाइनल समिकरण पूरा

समूह ‘ए’ बाट विभागीय एपीएफ विजेता र आर्मी उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । त्यस्तै, समूह ‘बी’ बाट आयोजक न्यू–डायमण्ड विजेता र विभागीय पुलिस उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो

जनसम्मत
पौष २८, २०७६, सोमबार

पोखरा । न्यू डायमण्ड स्पोर्टस् क्लबको आयोजनामा भएको न्यू–डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

आयोजक न्यू–डायमण्डसहित ३ विभागीय एपीएफ, आर्मी र पुलिसले अन्तिम चारमा स्थान बनाएका छन् ।

समूह ‘ए’ बाट विभागीय एपीएफ विजेता र आर्मी उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । त्यस्तै, समूह ‘बी’ बाट आयोजक न्यू–डायमण्ड विजेता र विभागीय पुलिस उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

शनिबार, विभागीय एपीएफ र नेपाल पुलिसले पहिलो तथा न्यू–डायमण्डले आर्मीसँग फाइनलका लागि दोस्रो खेल खेल्नेछन् ।

प्रतियोगिता अन्तर्गत शुक्रबार भएको समूहको अन्तिम खेलमा आयोजक न्यू–डायमण्डले नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा न्यू–डायमण्डले पुलिसलाई ३–२ को सेटमा पराजित गर्दै समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनल पुगेको हो । न्यू–डायमण्डले पुलिसमाथि २५–१९, २५–२३, १७–२५, १६–२५ र १५–६ को जित निकाल्यो ।

एपीएफले शुक्रबार दोहोरो जित निकाल्दै समूह ‘ए’ को विजेता बन्यो । पहिलो खेलमा पारामाउन्ट इङ्लिस बोर्डिङ स्कुललाई ३–० को सोझो सेटमा पराजित गरेको एपीएफले दोस्रो खेलमा पनि आर्मीलाई सोझो सेटमा पाखा लगायो ।

पारामाउन्टलाई २५–१८, २५–५ र २५–९ ले हराएको एपीएफले आर्मीलाई २५–२१, २५–१२ र २५–२१ ले पाखा लगायो । एपीएफ र आर्मीबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएपनि एपीएफले एकपक्षीय जित निकाल्यो ।

समूह चरणको अन्तिम खेलमा पराजित बनेको पुलिस पनि समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ । प्रतियोगिताको विजेता टोलीले ४ लाख १०१, उपविजेताले ३ लाख १०१ प्राप्त गर्नेछ ।

त्यसैगरी तेस्रोले १ लाख ५१ हजार १०१ र चौथोले ५१ हजार १०१ पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले २१ हजार १ सय पाउनेछन् भने ।

व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १०१ प्राप्त गर्नेछन् ।