पुसको २९ देखि पोखरामा क्योकुशिन कान प्रतियोगिता

पुरुषतर्फ २५, ३० ३५, ४०, ४५, ५०, ५५ र ६० केजी मुनी र खुला तौल समूहमा प्रतियोगिता हुनेछ । महिलातर्फ ३५, ४०, ४५, ५० र खुला तौल समूहमा प्रतियोगिता हुनेछ

जनसम्मत
पौष २८, २०७६, सोमबार

पोखरा । पोखरामा १९ औं माछापुच्छ«े गण्डकी प्रदेशस्तरीय फुल कन्ट्याक्ट तथा प्रथम नेपाल क्योकुशिन कान प्रतियोगिता हुने भएको छ ।

नेपाल क्योकुशिन कान कराते संघ कास्की शाखाले पुसको २९ गतेदेखि माघ १ गतेसम्म दुई दिन उक्त प्रतियोगिताको आयोजना गर्ने भएको हो ।

पोखरा रंगशालामा पुस २९ गते र ढुंगेसाँघुमा माघ १ गते हुने संघका सल्लाहकार तथा गण्डकी प्रदेश प्रमुख दीपकबहादुर गोदारले पत्रकार सम्मेलनमा जानकारी दिए । गोदारका अनुसार प्रतियोगितामा गण्डकी प्रदेशका १ सय ५० भन्दा बढी खेलाडी सहभागी हुनेछन् ।

पुरुषतर्फ २५, ३० ३५, ४०, ४५, ५०, ५५ र ६० केजी मुनी र खुला तौल समूहमा प्रतियोगिता हुनेछ । महिलातर्फ ३५, ४०, ४५, ५० र खुला तौल समूहमा प्रतियोगिता हुनेछ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिता आयोजना गर्न ५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताबाट २ लाख रुपैयाँ बचत गर्ने नेपाल क्योकुशिन कान कास्की शाखा अध्यक्ष बेलबहादुर थापाले जानकारी दिए । बचत रकमबाट संघले खेलाडीलाई आवश्यक पर्ने म्याट, प्याड र ग्लोब किन्ने थापाले जानकारी दिए । संघका खेलाडीले यसअघि जापान, भियतनाम र युरोप लगायतको विभिन्न देशमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक जितेको थापाले उल्लेख गरे ।

संघले अघिल्लो वर्ष गरेको १८ औं माछापुच्छ«े गण्डकी प्रदेशस्तरीय फुल कन्ट्याक्ट प्रतियोगिता २०७५ मा ८० हजार रुपैयाँ बचत गरेको प्रतियोगिता संयोजक दानबहादुर क्षत्रीले जानकारी दिए । संघले यो बचतबाट म्याट, प्याड लगायत खलाडीलाई आवश्यक पर्ने ५ लाख रुपैयाँ बराबरको सामान किनेको क्षत्रीले जनाए ।

प्रतियोगितालाई भव्य रुपले सम्पन्न गर्न संघले विभिन्न उपसमिति समेत गठन गरेको छ । अर्थ संकलन उपसमिति संयोजकमा सन्तोषकुमार श्रेष्ठ, निर्णायक, अफिसियल तथा खेल समितिको संयोजकमा निर्मल पहारी, यातयात तथा खाजा खाना व्यवस्थापन उपसमितिको संयोजक निर्मलबहादुर केसी, स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा जीवनाथ लामिछाने, मञ्च तथा साउण्ड सिस्टम व्यवस्थापन उपसमितिको संयोजकमा सागर गिरी, अतिथि सत्कार तथा सांस्कृतिक उपसमितिको संयोजकमा टुकदेवी पुन र पुरस्कार व्यवस्थापन उपसमितिको संयोजकमा सुमन प्रतेल छन् ।

नेपाल क्योकुशिन कान कराते संघ कास्की शाखा अन्तर्गत पोखरा रंगशाला, पृथ्वीनारायण क्याम्पस, लेखनाथको रंगशाला, भण्डाढिक, गगनगौंडा, बागमारामा प्रशिक्षण दिदै आएको कास्की जिल्ला प्रशिक्षक सुबास खड्काले जानकारी दिए । कास्की जिल्ला मातहतको संघमा मात्रै हाल ३ सयभन्दा बढीले प्रशिक्षण लिदै आएको खड्काले बताए । संघमा आवद्ध खेलाडीले ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा ४ पदक जितेको थियो ।