एमएम कप क्रिकेटमा सुदूर पश्चिमको जित

मनमोहन (एमएम) कप एकदिवसीय क्रिकेटमा सुदूर पश्चिमले पाहुना टोली मलेसिया सिलेक्सन–११ लाई हराएको छ

जनसम्मत
पौष २८, २०७६, सोमबार

पोखरा । मनमोहन (एमएम) कप एकदिवसीय क्रिकेटमा सुदूर पश्चिमले पाहुना टोली मलेसिया सिलेक्सन–११ लाई हराएको छ ।

सुदूरपश्चिम प्रदेशका लागि बलिङमा शेर मल्ल र विनोद लामाले उत्कृष्ट प्रदर्शन गरेपछि मलेसिया सिलेक्सन–११ लाई ८ विकेटले पराजित गरेको छ ।

मलेसियाका लागि विरेनदीप सिंहले सर्वाधिक २२ रन जोडे । पाहुना टोलीका लागि विरेनदीपबाहेक अन्य कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् । सुनसरीको इनरुवामा जारी प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा पहिला ब्याटिङ गर्दै मलेसिया सिलेक्सन–११ ले २२ ओभरमा सवै विकेट गुमाउँदै ४९ रनको झिनो योगफल तयार पारेको थियो ।

टस जितेर पहिला ब्याटिङ गरेको मलेसियन टोलीले ५ रन हुँदा पहिलो विकेट गुमायो । उसका भुषण सेभ ४ रनमा आउट भए । पहिलो ओभरको चौथो बलमा पहिलो विकेट गुमाएको मलेसियन टोलीले दोस्रो ओभरको पहिलो बलमै दोस्रो विकेट खेर फाल्यो । उसका कप्तान अहमद फइज १ रन बनाएर आउट बने ।

त्यसपछि, क्रिजमा आएको विरेनदीप सिंह भने टिक्न निकै प्रयास गरे । उनी अन्तिम विकेटको रुपमा २२ रन बनाएर आउट भए । मलेसियन इनोल हकिम, सइद अजिज र मोहम्मद आरिफ ३ खेलाडीले खाता नै नखोली पेभेलियन फर्किए ।

त्यसपछि क्रिजमा आएका देवेन्द्रन मोगनले बनाएको ५ रन मलेसियन टोलीका लागि बनाएको दोस्रो ठूलो स्कोर रह्यो । नाज्रिल रहमन १ रन बनाएर आउट बने । अनवर रहमानले ३ रनको योगदान गरे । पवनदीप सिंह खाता नै नखोली नट आउट रहे । २१ औं ओभरको अन्तिम बलमा विरेनदीप सिंह सर्वाधिक २२ रन बनाएर आउट बने । २२ रन बनाउँदा उनले ६९ बलमा ३ चौका प्रहार गरे ।

५० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको सुदूरपश्चिमको टोलीले ७ दशमलव २ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । पहिलो विकेट १७ रन हुँदा गुमाएको सुदूरपश्चिमले दोस्रो विकेट ३५ रनमा खेर फाल्यो । १७ रन हुँदा सुदूरपश्चिमका गजेन्द्र बोहोरा ब्यक्तिगत ११ रनमा आउट भए । १८ बलको सामना गरेका बोहोराले २ चौका प्रहार गरे ।

तेस्रो नम्बरमा आएका अरुण ऐरीले समेत धेरै रन जोड्न सकेनन् । अरुणले व्यक्तिगत ६ रन बनाएर आउट बन्दा टिमको स्कोर २ विकेटको नोक्सानीमा ३५ रन थियो । त्यसपछि ओपनिङ आएका खडक बोहोरा र लोकेश बमले टिमलाई जिताउन सफल भए । खडक र लोकेश दुवै जना समान १५ /१५ रनमा नटआउट रहे । मलेसियन टिमका लागि पवनदीप सिंह र अनवर रहमानले समान १/१ विकेट लिए ।