एपीएफ–न्यू डायमण्ड राष्ट्रिय महिला भलिबलको फाइनलमा

एपीएफले नेपाल पुलिसलाई २५–१४, २५–१८ र २५–१७ ले र दोस्रो सेमिफाइनलमा न्यु डायमण्डले आर्मीमाथि २५–१७, २५–१६ र २५–११ ले जित्दै उपाधि भिडन्त पक्का गरेको हो

जनसम्मत
पौष २८, २०७६, सोमबार

पोखरा । साविक विजेता विभागीय नेपाल एपीएफ क्लब र आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लब तेस्रो संस्करणको न्यू डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आमने–सामने हुने भएका छन् ।

सेमिफाइनलमा एपीएफल अर्को विभागीय नेपाल पुलिस र आयोजक न्यू डायमण्डले विभागीय आर्मीलाई हराउँदै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा भएको एपीएफले नेपाल पुलिसलाई ३–० को सेटमा पराजित गर्दै फाइनल पुगेको हो । त्यस्तै, साविक उपविजेता समेत रहेको आयोजक न्यू डायमण्डले त्रिभुवन आर्मीलाई पनि ३–० कै सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको ।

 पहिलो सेमिफाइनलमा एपीएफले नेपाल पुलिसलाई २५–१४, २५–१८ र २५–१७ ले जित हात पारेको थियो । दोस्रो सेमिफाइनलमा न्यु डायमण्डले आर्मीमाथि २५–१७, २५–१६ र २५–११ ले जित्दै एपीएफसँग उपाधि भिडन्त पक्का ग¥यो ।

साविक विजता एपीएफ र आयोजक न्यू डायमण्डबीच फाइनल खेल हुनेछ । फाइनल खेल हुनुअघि, तेस्रो स्थानका लागि विभागीय आर्मी र पुलिसबीच खेल हुने आयोजक न्यू डायमण्ड स्पोर्ट्स एकेडेमीले जनाएको छ ।

प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ, उपविजेताले ३ लाख १ हजार १ सय रुपैयाँ, तेस्रोले १ लाख ५१ हजार १ सय १ रुपैयाँ तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ सहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।