एपीएफद्वारा राष्ट्रिय महिला भलिबलको उपाधि रक्षा

तेस्रो संस्करणको फाइनलमा आयोजक टिम न्यू डायमण्डमाथि ३–० को सोझो सेटमा जित निकाल्दै उपाधि रक्षा गरेको हो

जनसम्मत
पौष २८, २०७६, सोमबार

पोखरा । विभागीय एपीएफ क्लबले न्यू डायमण्ड राष्ट्रिय महिला भलिबलको उपाधि रक्षा गरेको छ ।

 काठमाण्डौमा सम्पन्न तेस्रो संस्करणको फाइनलमा आयोजक टिम न्यू डायमण्डमाथि ३–० को सोझो सेटमा जित निकाल्दै उपाधि रक्षा गरेको हो । एपीएफले गत संस्करणको पनि उपाधि जितेको थियो ।

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबमा भएको फाइनलमा एपीएफले आयोजक न्यू डायमण्डमाथि २५–२०, २५–१८ र २५–२३ को सेटमा जित निकालेको थियो ।

उपाधि रक्षासँगै एपीएफले विजेताले ४ लाख १ हजार १ नगद, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पायो । त्यस्तै, उपविजेता आयोजक न्यू डायमण्डले उपविजेताले ३ लाख १ हजार १ सय नगद, ट्रफी, मेडल र प्रमाणपत्र पुरसकार पायो । न्यू डायमण्ड गत वर्षको साविक उपविजेता समेत हो ।

त्यस्तै यस संस्करणको न्यू डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब तेस्रो बन्यो । प्रतियोगिता अन्तर्गत तेस्रो स्थानका लागि आइतबार भएको खेलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा पराजित गर्दै पुलिस तेस्रो बनेको हो ।

आर्मीविरुद्ध पुलिसले २५–२२, २५–९ र २५–१२ को सोझो सेटमा जित निकाल्यो । तेस्रो भएसँगै पुलिसले १ लाख ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गरेको छ । चौथो भएको आर्मीले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त ग¥यो ।

एपीएफलाई च्याम्पियन बनाउन योगदान गरेकी नेपाली राष्ट्रिय टिमकी पनि नियमित सदस्य सरस्वती चौधरी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनिन् । सर्वोत्कृष्ट खेलाडी बनेसँगै सरस्वतिले २१ हजार १ सय १ र विधागत तर्फ उत्कृष्ट सर्भरसहित ७ हजार १ सय १ गरि २८ हजार २ सय २ रुपैयाँ नगद पुरस्कार पनि हात पारिन् ।

त्यस्तै, अन्य विधामा आयोजक न्यू डायमण्डकै खेलाडीहरुको वर्चश्व रह्यो । न्यू डायमण्डकी प्रतिभा माली उत्कृष्ट सर्भर, नेपाली टिमकी कप्तानसमेत रहेकी अरुणा शाही उत्कृष्ट सेटर, सलिना श्रेष्ठले उत्कृष्ट लिबेरो (डिफेन्डर)को पुरस्कार जितिन् ।

यस्तै, एपीएफकी हिरा केसी र नेपाल पुलिसकी कोपिला रानाले उत्कृष्ट क्वीकरको पुरस्कार हात पारे । एपीएफका प्रशिक्षक महेशबहादुर चौधरीले उत्कृष्ट प्रशिक्षकको पुरस्कार जिते । विधागत रुपमा उत्कृष्ट भएका खेलाडी तथा प्रशिक्षकहरुले ७ हजार १ सय १ रुपैयाँ पाए ।