एमएम कप क्रिकेटको सेमिफाइनल समिकरण पूरा

समूह ‘डी’मा रहेको सुदूरपश्चिमले लगातार दुई खेलमा स्पष्ट जित निकालेसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो । अघिल्लो खेलमा मलेसियालाई पराजित गरेको सुदूरपश्चिमले आइतबारको दोस्रो खेलमा गण्डकी प्रदेशमाथि ९ विकेटको सहज जित निकालेको छ

जनसम्मत
पौष २८, २०७६, सोमबार

पोखरा । मनमोहन मेमोरियल एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

समूह ‘डी’मा रहेको सुदूरपश्चिमले लगातार दुई खेलमा स्पष्ट जित निकालेसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो । अघिल्लो खेलमा मलेसियालाई पराजित गरेको सुदूरपश्चिमले आइतबारको दोस्रो खेलमा गण्डकी प्रदेशमाथि ९ विकेटको सहज जित निकालेको छ ।

इनरुवा रंगशालामा सम्पन्न खेलमा गण्डकी प्रदेशले दिएको ६५ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १० दशमलव २ ओभर खेल्दै १ विकेटको क्षतिमा पूरा ग¥यो । टिमलाई सहज जित दिलाउने क्रममा गजेन्द्र बोहराले ३४ रनको योगदान दिए । खडक बोहराले अविजित १६ र अरुण ऐरीले अविजित १० रन जोडे । गण्डकीका दीपेश खत्रीले १ विकेट लिए ।

त्यसअघि, टस जितेर पहिलो इनिङमा ब्याटिङ गरेको गण्डकी प्रदेश ६४ रनको स्कोरमा अल आउट हुन पुग्यो । स्पिनर हावी भएको खेलमा गण्डकी प्रदेश २३ दशमलव ३ ओभरमा ६४ रनमा समेटियो । उसका लागि ओपनर किशोर महतोले १७ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक नै जोड्न सकेनन् ।

गण्डकीलाई झिनो स्कोरमा समेट्ने क्रममा सुदुरपश्चिमका स्पिनर बिनोद लामा एक्लैले ७ विकेट लिएका थिए । ९ दशमलव ३ ओभर वलिङ गरेका बिनोदले २ मेडन ओभर सहित १४ रन खर्चिए । देब्रे हातका स्पिनर लामाले मलेसियाविरुद्धको खेलमा समेत ४ विकेट झारेका थिए । शेर मल्लले २ र बिक्रम ठगुन्नाले १ विकेट हात पारे ।

खेलको ‘म्यान अफ दी म्याच’ बिनोद लामा घोषित भए । प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा सोमबार मलेसिया र गण्डकी प्रदेशबीच खेल हुनेछ ।

सेमिफाइनलका खेलहरु माघ १ गतेबाट सुरु हुनेछन् । पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी र प्रदेश नम्बर ३ बीच खेल हुनेछ । दोस्रो सेमिफाइनलमा नेपाल पुलिस र सुदूर पश्चिमले फाइनलका लागि खेल्नेछन् ।