घोडचढीको हाइजम्पमा खिलध्वज च्याम्पियन

खिलध्वजले २० हजार पुरस्कार पाए, शो–जम्पतर्फ योगबहादुर बस्नेत पहिलो भए, टेन पेकिङतर्फ रुद्रबहादुर कार्की पहिलो बने

जनसम्मत
पौष २८, २०७६, सोमबार

पोखरा । छैटौँ राष्ट्रिय घोडचढी प्रतियोगिताको हाइजम्पतर्फ खिलध्वज खड्का पहिलो बनेका छन् ।

खिलध्वजले २० हजार पुरस्कार पाए । रामबहादुर दाहाल दोस्रो र सविनकुमार पोखरेल तेस्रो बने । रामबहादुरले १५ हजार र सविनकुमारले १० हजार पुरस्कार पाए ।

घोडचढीकै शो–जम्पतर्फ योगबहादुर बस्नेत पहिलो भए । योगबहादुरले २० हजार पुरस्कार पाए । उक्त स्पर्धामा लालबहादुर कुँवर दोस्रो र रामबहादुर दाहाल तेस्रो बने । लालबहादुरले १५ हजार र रामबहादुरले १० हजार पुरस्कार हात पारे ।

प्रतियोगिताको टेन पेकिङतर्फ रुद्रबहादुर कार्की पहिलो बने । रुद्रबहादुरले २० हजार पुरस्कार हात पारे । उक्त स्पर्धामा गोविन्दबहादुर खड्का दोस्रो र लक्ष्मण तेस्रो भए । गोविन्दबहादुरले १५ हजार र लक्ष्मणले १० हजार पुरस्कार प्राप्त गरे ।

प्रदर्शन खेलअन्तर्गत महिला राइडर सबैले प्रोत्साहन स्वरुप ५ हजार रुपैयाँ पुरस्कार पाए । महिला राइडर हरिमाया गुरुङ, शारदा केएम, कविता थापा र सरिता श्रेष्ठले ५/५ हजार पुरस्कार पाएका हुन् । प्रतियोगितामा महिला तथा पुरुष दुबैतर्फ गरी २६ राइडरको सहभागिता थियो । नेपाली सेना र राष्ट्रिय खेलकूद परिषद्ले प्रतियोगिता सञ्चालन गर्न सहयोग गरेको थियो ।

विजेता खेलाडीलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गरे । घोडचढी हालसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्म मात्र सीमित रहेकाले जनस्तरमा यस खेललाई लैजान प्रतियोगिता आयोजना गरिएको हो ।

खेलकूद बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । सहकारीको १० औँ वार्षिक साधारणसभाको उद्घाटन अवसरमा राष्ट्रिय खेलकुद परिषद्का कार्यवाहक सदस्य–सचिव राजेशकुमार गुरुङले संस्थाका अध्यक्ष महावीर पुनलाई ५० हजार हस्तान्तरण गरे ।