एमएम कप क्रिकेटमा मलेसियाको शान्त्वना जित

पाहुना टोली मलेसियाले समूह चरणको अन्तिम खेलमा सोमबार गण्डकी प्रदेशमाथि १ सय ९२ रनको भारी अन्तरको जित निकालेको हो

जनसम्मत
माघ १, २०७६, बुधबार

पोखरा । पाहुना टोली मलेसिया सिलेक्सन–११ ले इनरुवामा जारी मनमोहन कप एक दिवसीय क्रिकेट प्रतियोगितामा सान्त्वना जित हात पारेको छ ।

प्रतियोगिताबाट बाहिरिसकेको पाहुना टोली मलेसियाले समूह चरणको अन्तिम खेलमा सोमबार गण्डकी प्रदेशमाथि १ सय ९२ रनको भारी अन्तरको जित निकालेको हो ।

ओसिलो पिचका कारण ४७ ओभरमा छोट्याइएको खेलमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले ८ विकेटको क्षतिमा २ सय ९७ रन जोडेको थियो । २ सय ९८ रनको लक्ष्य पछ्याएको गण्डकीलाई २७ दशमलव २ ओभरमा अल आउट गर्दै मलेसिया–११ ले प्रतियोगितामा सुखद अन्त्य गरेको हो ।

गण्डकी प्रदेशका खेलाडीहरु मलेसियाका बलरसामु खुलेर खेल्न सकेनन् । गण्डकीले १ सय ६ रन बनाउँदै अल आउट हुन पुग्यो । गण्डकीलाई सस्तैमा समेट्न मलेसियाका सुहारिल फेत्रीले ४ विकेट लिए । अनवर रहमान र बिजय उन्नीले समान ३/३ विकेट लिए । गण्डकीका लागि विपिन खत्रीले सर्वाधिक ४२ रन बनाए । प्रविण ढकालले १९ र विधान श्रेष्ठले १० रन जोडे । गण्डकीका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्नै सकेनन् ।

त्यसअघि, पहिलो ब्याटिङ गरेको मलेसियाका ३ ब्याट्सम्यानले अर्धशतकीय पारी खेले । मलेसियाका ऐनुल हकिमले ८९ रनको योगदान दिए । त्यसैगरी, भुषन साब र भिरन्दीपसिंहले टोलीका लागि समान ५०/५० रन जोडे । अहमद फैजले ३१ रन बनाए । मोहमद आरिफले २० रनको पारी खेले । गण्डकीका विपिन खत्रीले ३ विकेट लिए । चन्द्रकान्त पौडेलले २ तथा गोविन्द प्रधानले मलेसियाको १ विकेट लिए । मलेसियाका हकिम प्रतियोगिताको ‘म्यान अफ दी म्याच’ बने ।

समूह ‘डी’को शीर्ष स्थानमा रहँदै सुदूरपश्चिम अन्तिम चारमा पुगिसकेकाले सोमबारको खेल दुवै टिमले प्रतिष्ठाको लागि मात्र खेलेको थियो । अब सेमिफाइनलका खेलहरु बुधबारबाट शुरु हुनेछन् । पहिलो खेलमा बागमती प्रदेशले विभागीय त्रिभुवन आर्मीसँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा सुदूरपश्चिमले नेपाल पुलिसको सामना गर्नेछ ।