पोखरा । घरेलु भुमीमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जित्न सफल बक्सिङका खेलाडीलाई एक्स–बक्सर ग्रुप मकाउले सोमबार नगदसहित सम्मान गरेको छ ।
बक्सर ग्रुप मकाउले स्वर्ण विजेता मिनु गुरुङ, भूपेन्द्र थापा र सनिल शाहीलाई समान २०/२० हजार नगद सहित सम्मान गरेको हो । त्यस्तै, रजत जितेका ललिता महर्जन, माला राई, संगीता सुनार, पुनम रावल, गणेश प्रधान र आशिष दवाडीलाई समान १५/१५ हजार नगद सहित सम्मान गरेको हो ।
यसैगरि, काँस्य विजेता सुशील थापा, तेजबहादुर देउवा, पुरण राई, विकास लामा, अर्जुन सिगु र चन्द्रकला थापालाई समान १०/१० हजार नगद सहित पुरस्कार प्रदान गरेको हो । नेपालमै भएको १३ औं संस्करणको साग खेलकुदको बक्सिङमा नेपालले ३ स्वर्ण, ६ रजत र उत्तिनै काँस्य जित्न सफल भएको थियो ।
उक्त अवसरमा नेपाल बक्सिङ संघले सागमा पदकविहीन खेलाडी दीपक श्रेष्ठ, प्रशिक्षक, निर्णायक र व्यवस्थापकलाई समेत सम्मान ग¥यो । संघले दीपक श्रेष्ठलाई १० हजार तथा प्रशिक्षकहरु प्रकाश थापामगर, एलिसेर राखिमुभ, प्रवीण तुलाधर, डम्बरदत्त भट्ट, किशोर लिम्बु, दीपक महर्जन र सुरेश मल्ललाई समान ५/५ हजार सहित प्रशंसापत्रद्वारा सम्मान गरेको हो ।
साग खेलाडी सम्मानका लागि पूर्व बक्सर सिन्धुपाल्चोक जिल्ला बक्सिङ संघका अध्यक्ष मानबहादुर भण्डारीले मकाउमा रहेका पूर्व बक्सर मानबहादुर श्रेष्ठमार्फत पुरस्कारका लागि पहल गरेका थिए । एक्स–बक्सर ग्रुप मकाउले विगत १७ वर्षदेखि खेलाडीलाई सम्मान तथा खेलाडीको उपचारलगायतका कार्यहरुमा सहयोग गर्दै आएको छ ।