टेनिसको विश्व वरीयतामा प्रिन्स ११ औं स्थानमा

विश्व ब्याडमिन्टन महासंघले सार्वजनिक गरेको विश्व वरीयतामा प्रिन्स ११ औँ स्थानमा उक्लिएका छन्, एकसाता अघि प्रिन्स विश्व वरीयताको १४ औँ स्थानमा थिए

जनसम्मत
माघ १, २०७६, बुधबार

पोखरा । नेपालका उदीयमान ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व वरीयतामा फड्को मारेका छन् ।

विश्व ब्याडमिन्टन महासंघले सार्वजनिक गरेको विश्व वरीयतामा प्रिन्स ११ औँ स्थानमा उक्लिएका छन् ।

एकसाता अघि प्रिन्स विश्व वरीयताको १४ औँ स्थानमा थिए । विश्व ब्याडमिन्टन महासंघले प्रत्येक साता सिनियरतर्फ तथा यू–१९ जुनियर खेलाडीको वरीयता निर्धारण गर्दै आएको छ । प्रिन्सले प्राप्त गरेको वरीयता हालसम्म ब्याडमिन्टनमा नेपाली खेलाडीले हासिल गरेको उत्कृष्ट नतिजा हो ।

राजधानी काठमाण्डौंमा हालै मात्र सम्पन्न प्रेसिडेण्ट कप इन्टरनेशनल प्रतियोगितामा प्रिन्स यू–१९ को फाइनलमा भारतीय खेलाडी मिराव लुवाङसँग १६–२१, २३–२१ र १५–२१ अंकले पराजित भएका थिए । भारतीय खेलाडी लुवाङ विश्व वरीयताको तेस्रो स्थानमा छन् ।

दुई साताअघि प्रिन्स विश्व वरीयताको ३२ औँ स्थानमा थिए । गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई)मा सम्पन्न दुबई इन्टरनेशनल सिरिजको उपाधि जितेपछि प्रिन्सको वरीयतामा उल्लेख्य सुधार भएको हो ।

ब्याडमिन्टनको जुनियरतर्फको वरीयतामा फ्रान्सका क्रिस्टो पोपोभ शीर्ष स्थानमा छन् । चीनका लिउ लियाङ वरीयताको दोस्रो स्थानमा छन् ।