ए डिभिजन लिगमा आर्मी र संकटाले अंक बाँड्यो

खेलमा दुबै टोलीले १–१ गोलको बराबरी खेल्दै समान १/१ बाँडेका छन्

जनसम्मत
माघ १, २०७६, बुधबार

काठमाण्डौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय त्रिभुवन आर्मी र संकटा क्लबले अंक बाँडेका छन् ।

लिग अन्तर्गत मंगलबार भएको खेलमा दुबै टोलीले १–१ गोलको बराबरी खेल्दै समान १/१ बाँडेका छन् । बराबरी गर्दै दुवै टिमले १/१ अंक लिएपछि त्रिभुवन आर्मीले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ । नतिजासँगै आर्मीले १३ अंकसहित शीर्ष स्थानको मछिन्द्रसँग अंक बराबरी गरेको छ । आर्मीसँग बराबरी खेलेको संकटाले ८ अंक बटुल्दै आठौँ स्थानमा छ ।

दशरथ रंगशालामा भएको पहिलो हाफमा आर्मीले नवयुग श्रेष्ठको गोलको मद्दतले अग्रता लिएको थियो । उनले २९ औंँ मिनेटमा फ्री–किक मार्फत आएको बललाई हेड गर्दै गोल गरेका थिए । दोस्रो हाफको शुरुमै आर्मीलाई धक्का लाग्यो । युद्ध शाही रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि आर्मीको १० खेलाडीले खेलेको थियो । पहिलो हाफको १० औंँ मिनेटमा पहिलो पहेँलो कार्ड पाएका युद्धले ५१ औंँ मिनेटमा दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाडेका थिए ।

त्यसपछि दबाबमा आएका आर्मीलाई संकटाले १ गोल फर्कायो । संकटाका अमित तामाङले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । आर्मीका सुमन अर्यालले फल गरेपछि संकटाले पाएको पेनाल्टीलाई अमितले गोलमा परिणत गरे । ८० औंँ मिनेटमा आर्मीका नवयुग श्रेष्ठलाई रिप्लेस गर्दै मैदान प्रवेश गरेका कप्तान भरत खवास १ मिनेटमै घाइते हुन पुगे ।

संकटाका लक्ष्मण रुचालले प्रहार गरेको फ्री–किक उनको टाउकोमा लागेपछि खवास लडेका थिए । असजिलो महसुस गरेपछि उनी हिँडेरै मैदान बाहिर निस्किएका थिए । त्यसपछि शुरु भएको खेलमा दुवै तर्फबाट कुनैपनि गोल नभएपछि संकटा र आर्मीले समान १/१ अंक बाँडे ।