तनहुँको मानहुँकोटदेखि पुलिमराङसम्मको अल्ट्रा म्याराथन तयारी

व्यास नगरपालिका–५, मानहुँकोटबाट उक्त नगरपालिकाको वडा नं ८ पुलिमराङसम्म ४४ किमी दुरीको अल्ट्रा म्याराथन हुन लागेको हो

जनसम्मत
माघ २, २०७६, बिहीवार

पोखरा । तनहुँको व्यास नगरपालिकामा तेस्रो संस्करणको व्यास नगर अल्ट्रा म्याराथनको तयारी शुरु गरिएको छ ।

व्यास नगरपालिका–५, मानहुँकोटबाट उक्त नगरपालिकाको वडा नं ८ पुलिमराङसम्म ४४ किमी दुरीको अल्ट्रा म्याराथन हुन लागेको हो । मानहुँकोटबाट शुरु हुने म्याराथन व्यास नगरपालिका वडा नं ८ पुलिमराङसम्म ४४ किमीको दुरी रहेको छ ।

नगरपालिकाले मानहुँकोट र पुलिमराङलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित अल्ट्रा म्याराथन गर्दै आएको हो । म्याराथन मानहुँकोट सिद्धमार्ग हुँदै अलैचे, चापाघाट, अनसन चौतारी, सफासडक, भोर्लेटारचोक, बैरेनी, कुमालटारी, दुम्सी खहरे, कलेस्ती, पाथ्रा, सत्रसय, कालिकामार्ग, बानियाँ डिही, बर्लाची, सोतीवेशी, बगुवा रिस्ती, बाहुन पोखरा, गाडापानी हुँदै पुलिमराङमा पुगेर सकिनेछ ।

अल्ट्रा म्याराथनमा प्रथम हुनेले ८१ हजार ७६ रुपैयाँ, दोस्रो हुनेले ६१ हजार ७६ रुपैयाँ, तेस्रो हुनेले ५१ हजार ७६ रुपैयाँ र शान्त्वना हुने पाँच जनाले जनही १६ हजार ७६ रुपैयाँ पाउने अल्ट्रा म्याराथनका संयोजक एवं व्यास ९ का वडाअध्यक्ष सुरेश थापाले बताए ।

पुरस्कार रकम कर बाहेकको हुनेछ । पुरस्कारमा लाग्ने कर नगरपालिका संयमले नै व्यहोर्नै कार्यालयले जनाएको छ । उक्त म्याराथन प्रतियोगिता संचालनका लागि १३ लाख रुपैया खर्च लाग्ने नगरपालिकाको अनुमान छ ।

व्यास नगरपालिकाले नेपालका ख्यातीप्राप्त धावकहरुलाई समान म्याराथनमा आमन्त्रण गर्ने बताएको छ । नगरपालिकाले ख्यातीप्राप्त धावक बैकुण्ठ मानन्धर र कान्छीमाया कोजुलाई गतवर्ष झै यसपटक पनि कार्यक्रममा आमन्त्रण गर्ने बताएको छ ।

पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको व्यास नगरपालिका–५ स्थित मानहुँकोटमा आजभोली दैनिक ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले पर्यटकीय गाउँ मानहुँकोट र शहिद गाउँ पुलिमराङलाई खेलकुदको माध्यमबाट जोड्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको वताए ।