ए डिभिजन लिगमा सातौं चरणका खेल शुरु

हिमालयनसँग मच्छिन्द्र २–० ले स्तब्ध

जनसम्मत
माघ ४, २०७६, शनिबार

काठमाण्डौं । हिमालयन शेर्पा क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गराएको छ ।

हिमालयनसँगको हारसँगै शीर्षस्थानको मच्छिन्द्र क्लब स्तब्ध बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको शुक्रबारको एक मात्र खेलमा शेर्पाले मछिन्द्रलाई २–० ले हराएको छ ।

लिग अन्तर्गत सातौं चरणको सुरुवातसँगै शेर्पाले लिगमा महत्वपूर्ण जित हासिल गरेको हो । पिटर सेगुनको आत्मघाती गोलबाट अग्रता लिएको मच्छिन्द्रका लागि विजय श्रेष्ठले २० औं मिनेटमा गोल गरेका थिए । निरज बस्नेतको फ्री–किकमा विजयले हेडमार्फत गोल गरेका थिए ।

हिमालयन र मच्छिन्द्रबीचको उक्त खेल लिगमा सातौं चरणको पहिलो खेल थियो । लगातारको वर्षाका कारण एन्फाले शुक्रबारको खेल दशरथ रंगशालाबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सारेको थियो ।

सातौं चरणको पहिलो खेलमा आइपुग्दा अब अपराजित एक मात्र टोलीका रुपमा मनाङ मस्र्याङ्दी क्लब रहेको छ । बाँकी सबै टोली पराजित बनेका छन् । सातौं खेलमा आएर पहिलो जित दर्ता गरेको शेर्पाको खातामा अब ६ अंक पुगेको छ ।

मच्छिन्द्रको ७ खेलबाट ४ जित, २ बराबरी र १ हार सहित १३ अंक छ । अघिल्लो सिजन लिगको पुछारबाट दोस्रो स्थानमा रहेका कारण मच्छिन्द्रको यो सिजनमा एक अंक घटाइएको हो ।

मच्छिन्द्रको हिमालयन शेर्पासँगको यस हारले त्रिभुवन आर्मी क्लब, मनाङ, थ्री स्टारलाई फाइदा पुग्न सक्छ । आर्मीको १३ अंक छ । मनाङ मस्र्याङ्दी क्लबको १२ र थ्री स्टार क्लबको १० अंक छ ।