क्लब च्याम्पियनसीप भलिबलमा शुरु

महिलातर्फ न्यू डायमण्डको नेपाल पुलिसमाथि १७–२५, २५–१८, २३–२५, २५–१८ र १५–११ को अंकले जित । पुरुषतर्फ विभागीय आर्मी र एपीएफको जित

जनसम्मत
माघ ४, २०७६, शनिबार

कामठमाण्डौं । आरबीसी एभीए क्लब च्याम्पियनसीप भलिबल प्रतियोगिताको महिलातर्फ न्यू डायमण्डले नेपाल पुलिसमाथि जित निकालेको छ ।

न्यू डायमण्डले पुलिसलाई ३–२ को सेटमा हराएको हो । न्यू डायमण्डले पुलिसमाथि १७–२५, २५–१८, २३–२५, २५–१८ र १५–११ को अंकले जित निकालेको हो ।

घरेलु भलिबलमा एक साता बित्न नपाउँदै नेपाल पुलिसमाथि न्यू–डायमण्डले जित निकालेको यो दोस्रो हो । यसअघि, न्यू डायमण्ड महिला भलिबल प्रतियोगिताको समूह चरणमा प्रतिस्पर्धा गरेको ठिक एक सातापछि शुक्रबार आरबीसी एभीए क्लब च्याम्प्यिनसीपमा पनि न्यू डायमण्ड नेपाल पुलिसमाथि हावी बन्यो ।

अघिल्लो साताको खेल भने दुई टोलीबीच समूह विजेताको छिनोफानोको लागि भएको थियो । उक्त प्रतियोगितामा अन्तमा न्यू डायमण्ड दोस्रो र पुलिस तेस्रो भएको थियो । अघिल्लो साता न्यू डायमण्डले नेपाल पुलिसलाई २५–१९, २५–२३, १७–२५, १६–२५ र १५–६ मा जित निकालेको थियो ।

पुरुषतर्फ आर्मी र एपीएफको जित

 

आरबीसी एभीए क्लब च्याम्पियनसीप भलिबल प्रतियोगिताको पुरुषतर्फ दुई विभागीय त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब विजयी बनेका छन् ।

पुरुषतर्फको उद्घाटन खेलमो समूह ‘ए’ मा रहेको आर्मील आरजी भलिबल ग्रुपलाई ३–० को सेटमा पराजित ग¥यो । आर्मी २५–९,२५–१६ र २५–९ ले विजयी बन्यो ।

अर्को खेलमा एपीएफले बुलबुले रारा क्लबलाई ३–१ ले पराजित गरेको छ । भारतीय खेलाडीको साथ रहेको बुलबुलेले पहिलो सेट जितेपछि लगातार ३ सेट एपीएफले आफ्नो पक्षमा पारेको थियो । एपीएफले बुलबुले रारामाथि २३–२५,२५–१२,२५–२० र २५–१८ ले जित निकाल्यो ।

च्याम्पियनसीपमा पुरुषतर्फ ११ र महिलातर्फ ७ टोलीको सहभागिता रहेको छ । पुरुषतर्फको समूह ‘ए‘ मा साविक विजेता विभागीय आर्मी, आरजी ग्रुप र नयाँ बजार सामाजिक क्लब छन् ।

एपीएफ, बुलबुले र जावलाखेल भलिबल प्रशिक्ष केन्द्र समूह ‘बी’ तथा नेपाल पुलिस क्लब , मणिमुकुन्द भलिबल क्लब र पार्वती भलिबल क्लब समूह ‘सी’ मा छन् । समूह ‘डी’मा हेल्प नेपाल र बुद्धटोल रहेका छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् ।

महिलातर्फ दुई विभागीय टोली साविक विजेता नेपाल एपीएफ क्लब, आर्मी, जावलाखेल र भरतपुर महानगर समूह ‘ए’ तथा न्यू डायमण्ड स्पोर्टस क्लब, पुलिस र ढोरपाटन स्पोर्टस् क्लब अर्को समूहमा छन् । राउन्ड रोविनपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

प्रतियोगिताका दुवैतर्फका विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रोले ५० हजार सहित शिल्ड, ट्रफी, मेटडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान २५/२५ हजार पाउनेछन् । विधागत उत्कृष्टले समान १०/१० हजार पुरस्कार पाउनेछन् ।