राष्ट्रिय क्लब भलिबलको महिलातर्फ एपीएफ र आर्मी सेमिफाइनलमा

एपीएफले समुह ए को खेलमा भरतपुर मेट्रो खेलकुद परिषद्लाई ३–० को सेटले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो,आर्मीले जवालाखेल भलिबल ट्रेनिङ सेन्टरलाई २५–११, २५–५, २५–११ ले पराजित गर्दै ६ अंक बनाउन सफल भएको हो

जनसम्मत
माघ ५, २०७६, आइतबार

पोखरा । विभागीय एपीएफ र आर्मीले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसीपको महिलातर्फ अन्तिम चारमा स्थान बनाएका छन् ।

नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिता अन्तर्गत आइतबार विभागीय सशस्त्र प्रहरी बलको एपीएफ र सेनाको त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।

एपीएफले समुह ए को खेलमा भरतपुर मेट्रो खेलकुद परिषद्लाई ३–० को सेटले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । एपीएफले भरतपुरलाई २५–११, २५–१२ र २५–१६ को सोझो सेटमा जित निकालेको थियो । जितसँगै समूह ए बाट एपीएफको ६ अंक बनाएको हो । यसअघि, एपीएफले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई पराजित गर्दै ३ अंक जोडेको थियो ।

यस्तै, विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान बनाएको छ । आर्मीले जवालाखेल भलिबल ट्रेनिङ सेन्टरलाई २५–११, २५–५, २५–११ ले पराजित गर्दै ६ अंक बनाउन सफल भएको हो । आर्मीले शनिबार भरतपुर मेट्रो खेलकुद परिषद्लाई पराजित गर्दै ३ अंक जोडेको थियो । सोमबार हुने एपीएफ र सेनाबीचको प्रतिस्पर्धाबाट समूह बिजेता र उपबिजेताको टुंगो भने लाग्नेछ ।

दशरथ रंगशालाको कभर्डहलमा जारी च्याम्पियनसीपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब ग्रुप डी बाट पहिलो जित निकाल्दै क्वाटरफाईनलमा प्रवेश गरेको छ । हेल्प नेपालले बुद्धटोल युवा भलिबल क्लबमाथि २५–१०, २५–१५, २५–११ को सोझो सेटमा जित निकालेको हो ।

यस समूहमा २ टिम मात्र भएकोले पहिलो जितमा नै हेल्प नेपाल समूह विजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको हो । बुद्धटोल युवा भलिबल क्लब समेत समूह उपविजेताको रुपमा क्वाटरफाइनल प्रवेश गरेको छ ।