ए डिभिजन लिगमा एनआरटीले एपीएफलाई हरायो

जनसम्मत
माघ ५, २०७६, आइतबार

पोखरा । स्मारक ए डिभिजन लिग फुटबलमा आइतबार एनआरटी क्लबले स्पष्ट ३ अंक जोडेको छ ।

एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा भएको खेलमा एनआरटीले विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३–२ गोलले हराउँदै अंक जोडेको हो ।

जितसँगै सात खेलबाट ११ अंक बनाएको एनआरटी तालिकाको छैटौं स्थानमा उक्लिएको छ । समान खेलबाट ५ अंक बनाएको एपीएफ १२ औं स्थानमा छ ।

प्रतिस्पर्धात्मक खेलमा एनआरटीलाई जिताउन आन्द्र थेरीले २४ औं, जोर्डन एनडेम्बाले ८० औं र दर्शन गुरुङले ८५ औं मिनेटमा गोल गरे । एपीएफका आशिष लामाले ४१ औं र ५३ औं मिनेटमा दुई गोल गरे । एनआरटीका एरिक बिष्ट ‘म्यान अफ दी म्याच’ बने । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।

सरस्वतीमाथि फ्रेण्ड्सको जित

 

त्यस्तै, लिग फुटबल अन्तर्गत आइतबार भएको खेलमा सरस्वती युथ क्लबविरुद्ध फ्रेन्ड्स क्लबले सहज जित निकालेको छ ।

फ्रेन्ड्सले सरस्वतीलाई ४–१ गोलले हरायो । फ्रेन्ड्सको जितमा उत्तम राईले २ गोल गरे । सउलो डे अक्विनो र वाग्नर डे कार्मोले १/१ गोल गरे ।

सरस्वतीका लागि काजिम एडेगोके बुसारीले सान्त्वना गोल फर्काए । फ्रेन्ड्सले पाँचौं मिनेटमा अग्रता लिएको थियो । फ्रेन्ड्सका उत्तम राईले वान टच गोल गरेका थिए । २४ औं मिनेटमा सउलोले फिलिप डी सउजाको क्रसमा गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर बनाए । फ्रेन्ड्सका लागि तेस्रो गोल वाग्नर डेले ७० औं मिनेटमा गरेका थिए ।

८६ औं मिनेटमा उत्तम राईले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई सजिलै जिताए । सरस्वतीका लागि ८० औं मिनेटमा काजिम एडेगोकेले शान्त्वना गोल गरेका थिए । फ्रेन्ड्सका उत्तम राई ‘म्यान अफ दी म्याच’ घोषित भए । उत्तमले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

यस जितसँगै ७ खेलबाट ८ अंक बनाएको फ्रेन्ड्स नवौं स्थानमा उक्लिएको छ । एक अंकमा सीमित सरस्वती तालिकाको अन्तिममा छ । ६ खेलबाट हार खेपेको सरस्वतीले एक खेल बराबरी खेलेको थियो । लगातार हारले सरस्वतीमाथि रेलिगेसनको दबाब कायम छ ।