नेपाल पुलिस राष्ट्रिय क्लब भलिबल महिलातर्फको सेमिफाइनलमा

नेपाल पुलिस क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई २५–५, २५–१५, २५–८ ले पराजित गर्दै सोमबार सेमिफाइनलमा स्थान बनाएको हो

जनसम्मत
माघ ७, २०७६, मंगलवार

पोखरा । विभागीय नेपाल पुलिसको महिला टोली पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय च्याम्पियनसीपको क्लब भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई २५–५, २५–१५, २५–८ ले पराजित गर्दै सोमबार सेमिफाइनलमा स्थान बनाएको हो ।

पहिलोे खेलमा न्यू डायमन्डसँग ३–२ को सेटमा पराजित भएको पुलिसले १ अंक जोडेको थियो । ढोरपाटनलाई पराजित गर्दै थप ३ अंकका सहित कुल ४ अंक बटुल्न सफल बन्यो । न्यू डायमन्ड र ढोरपाटन स्पोर्टस् क्लबबीचको नतिजाबाट समूह बिजेता र उपबिजेताको टुंगो लाग्नेछ ।

महिलाको अर्को खेलमा समूह चरणबाट बाहिरी सकेका भरतपुर मेट्रो खेलकुद परिषद्ले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई २५–८, २५–९, २५–१५ ले पराजित गरेको छ ।

त्यस्तै, च्याम्पियनसीप अन्तर्गत पुरुषतर्फ विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले क्वाटरफाइनलमा स्थान बनाएको छ । राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको च्याम्पियनसीपमा आर्मी क्लबले समूह ए मा समूह बिजेता बन्दै अन्तिम आठमा स्थान बनाएको हो ।

आर्मीले सोमबार नयाँबजार सामाजिक युवा क्लबलाई २५–१५, २५–१७, २५–१७ को सोझो सेटमा पराजित ग¥यो । आर्मीले २ खेलबाट ६ अंक जोडेको छ । आर्मीसँग पराजित भएपनि नयाँबजार युथ क्लब एक जित सहित समूह उपबिजेताका रुपमा क्वाटरफाईनल प्रवेश गर्न सफल बन्यो । समूह ए बाट आरजी भलिबल ग्रुप भने दुवै खेलबाट हारेपछि समूह चरणबाटै बाहिरिएको छ ।

च्याम्पियनसीप अन्तर्गत समूह ‘बी’को अर्को खेलमा बुलबुले रारा क्लबले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई २५–१५, २५–२१, २५–१० ले पराजित गर्दै ३ अंक बटुल्न सफल बन्यो ।

तस्बीर : दामोदर अर्याल