पोखरामा बगर भाइखलक भेट्रान एट–ए–साइड फुटबल शुरु

प्रतियोगिताको उदघाटन खेलमा आयोजकले विजयी सुरुवात गरेको छ । वगर भाइखलक ‘सेतो’ले माहावीर स्पोर्टस् क्लब हेटौंडालाई ४–१ गोल अन्तरले पाखा हराउँदै विजयी सुरुवात गरेको हो

जनसम्मत
माघ ७, २०७६, मंगलवार

पोखरा । पोखरामा तेश्रो स्व. रन्जित गुरुङ स्मृति तथा नवौं बगर भाइखलक भेट्रान एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता शुरु भएको छ ।

बगर भाइखलकको आयोजनामा भएको प्रतियोगिताको उदघाटन खेलमा आयोजकले विजयी सुरुवात गरेको छ । वगर भाइखलक ‘सेतो’ले माहावीर स्पोर्टस् क्लब हेटौंडालाई ४–१ गोल अन्तरले पाखा हराउँदै विजयी सुरुवात गरेको हो । वगर भाइखलकको जितमा मनोज गुरुङले ह्याट्रिक गरेका थिए ।

खेलको पहिलो मिनेटमा नै मनोजले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले खेलको ७ औं र ५० मिनेटमा ह्याट्रिक पुरा गरे । टिमका लागि दिपक गर्वुजा पुनले खेलको २५ औं मिनेटमा १ गोल थपे । माहावीरका तर्फबाट अजय मानन्धरले १ मात्र शान्त्वना गोल फर्काए ।

यसअघि, प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनले प्रदेश सरकार खेलकुद बिकासका लागि प्रतिवद्ध रहेको जनाइन् । उनले टुँडीखेल खेल मैदानको स्त्तरोन्नतीका लागि प्रदेश सरकारले सहयोग गर्ने बताइन् ।

उद्घाटन समारोहमा भुतपूर्व खेलाडी मञ्च नेपालका संस्थापक अध्यक्ष तथा पूर्व राष्ट्रिय खेलाडी खड्क रानाभाटलाई खेलकुदमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ । वगर भाइखलकले संस्थापक अध्यक्ष रानाभाटलाई ताम्रपत्र, दोसल्ला र मालाले सम्मान गरेको हो । सामाजिक बिकासमन्त्री पुनले उनलाई सम्मान गरेकी थिइन् ।

बगर भाईखलकका अध्यक्ष दिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सांसद कृष्ण थापा, संस्थाका महासचिव यामबहादुर गुरुङलगायतले संस्थाले खेलकुद र सामाजिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै प्रशंसा गरेका थिए ।

माघको ११ गतेसम्म संचालन हुने प्रतियोगितामा विभिन्न ९ जिल्ला र भारत कोलकत्ताका गरी २८ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिता अन्तर्गत मंगलबार ७ वटा खेल हुने आयोजकले बताएको छ । जस अनुसार पहिलो खेल वगर भाइ खलका पहेलोविरुद्ध वुटवल भेट्रान, टी वर्गर जावलाखेलविरुद्ध सिमरा भेट्रान, धनिमन्डलविरुद्ध विरगञ्ज यूथ एकेडेमी, हेटौंडा भेट्रान विरुद्ध दीप यूनाइटेड, चितवन निलोविरुद्ध एक्स–पोखरा भेट्रान, हेटौडा भेट्रान निलोविरुद्ध श्रृंखला क्लब भलाम र चावहिल स्पोर्टस् काठमाडौंविरुद्ध लेकसाइड भेट्रान भिड्नेछन ।