आर्मी ए डिभिजन लिगको शीर्ष स्थानमा

लिग अन्तर्गत सातौं चरणको खेल खेलेको आर्मीले च्यासलमाथि शानदार जित हात पार्दै शीर्ष स्थानमा उक्लिएको हो । अर्को खेलमा संकटा क्लब र ब्रिगेड ब्वाइज क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्

जनसम्मत
माघ ७, २०७६, मंगलवार

पोखरा । विभागीय टोली त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

लिग अन्तर्गत सातौं चरणको खेल खेलेको आर्मीले च्यासलमाथि शानदार जित हात पार्दै शीर्ष स्थानमा उक्लिएको हो । उसले च्यासल युथ क्लबलाई ३–० ले हराउँदै आर्मीले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको हो । आर्मीलले ७ खेलबाट १६ अंक जोड्दै आर्मी शीर्ष स्थान बनायो ।

काठमाण्डौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीलाई जिताउन भरत खवास, नबयुग श्रेष्ठ र सन्तोष तामाङले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आर्मीले तीनवटै गोल दोस्रो हाफमा गरेको थियो ।

आर्मीका लागि ५८ औ मिनेटमा भरतले गोल गर्दै टोलीलाई अग्रता दिलाए । खेलको ७३ औ मिनेटमा नवयुगले आर्मीको अग्रता दोब्बर बनाए । खेलको ८५ औ मिनेटमा सन्तोषले टोलीका लागि तेस्रो गोल गरेपछि आर्मीले शानदार जित निकाल्यो ।

खेलको अधिकांश समय बललाई आफ्नो पोजिशनमा राखेको पारेको आर्मीले च्यासलको पोष्टमा बल आक्रमण बुनि रह्यो । समान खेलबाट ६ अंक जोडेको च्यासल तालिकाको १२ औ स्थानमा रहेको छ ।

संकटा र ब्रिगेडको बराबरी

त्यस्तै, डिभिजन लिग फुटबल अन्तर्गत अर्को खेलमा संकटा क्लब र ब्रिगेड ब्वाइज क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा सोमबार भएको खेलमा दुवै टोली गोलरहित बराबरी खेल्यो । दुबै टोलीले गोल गर्ने अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।

मध्यभागमा बल नियन्त्रणमा प्रखर देखिएको संकटाको स्ट्राइकिङ लाइन कमजोर बनेको थियो । संकटाको प्रहारमा बाधक बनेका ब्रिगेडका गोलरक्षक विशाल सुनार ‘म्यान अफ दी म्याच’ भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । बराबरीसँगै ७ खेलबाट ९ अंक बनाएको संकटा आठौं र ८ अंक बनाएको ब्रिगेड नवौं स्थानमा छ ।