पोखरा म्याराथनले नेपालकै पहिचान बनाउँछ : मन्त्री गुरुङ

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले भने, ‘पोखरामा ७ हजार मात्रै होइन १४ हजार दौडिनुपर्छ र यसलाई सफल बनाउन पर्छ’

जनसम्मत
माघ ९, २०७६, बिहीवार

पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथन पोखराको मात्रै नभएर नेपालकै पहिचान बनाउने बताएका छन् ।

मन्त्री गुरुङले म्याराथनलाई सफल बनाउने दायित्व आयोजकको मात्रै नभई हरेक नागरिक र सरकारको समेत उत्तिकै दायित्व रहेकोे उल्लेख गरे ।

भुतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गरेको म्याराथन विषयक अन्तरक्रियामा बोल्दै मन्त्री गुरुङले भने, ‘पोखरा म्याराथन पोखरा र प्रदेशको मात्र नभई नेपालकै पहिचान हो । म्याराथनले अब पोखराको मात्र पहिचान नबनाई अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान बनाउन सबै क्षेत्रबाट साथ दिनुपर्छ । यसलाई अझ बृहत् बनाउन सबैले पहल गरौं ।’

वर्षको एक दिनका लागि सहभागितामात्र नसोचेर स्वास्थ्यका लागि दौडने वातारण बताउनतर्फ लाग्नुपर्ने उनको जोड थियो । म्याराथनलाई साथ दिन प्रदेश सरकार संरक्षकको भुमिकामा रहने समेत मन्त्री गुरुङले प्रष्ट पारे ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले म्याराथनलाई महानगरको पूर्ण साथ रहने प्रतिवद्धता व्यक्त गरे । जिसीले भने, ‘पोखरामा ७ हजार मात्रै होइन १४ हजार दौडिनुपर्छ र यसलाई सफल बनाउन पर्छ ।’

उनले पोखरा भगिनी सम्वन्ध रहेका शहरहरुमा यसको प्रचार प्रसार र सहभागिताका लागि पत्राचार समेत गरिएको जानकारी दिए ।

त्यस्तै, मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले मञ्चले गरेको ऐतिहासिक कार्यबारे जानकारी दिएका थिए ।

अन्तरक्रियामा मञ्चका अध्यक्ष तेज गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको विगतका गतिविधि र अव हुने म्याराथनबारे प्रकाश पारेका थिए ।

‘शान्ति र स्वास्थ्यका लागि खेलकुद’ भन्दै पर्यटन प्रवद्र्धनमा ठूलो भुमिका पोखरा म्याराथनले खेलिरहेको उनको तर्क थियो । यसपालिको म्याराथनको विश्व शान्ति सद्भाव दौडमा सहभागी हुन युनेष्कोका संस्थापक डेभिड्सन लिन्कोनसहितको टोली आउने मञ्चका अध्यक्ष गुरुङले जानकारी दिएका छन् ।

सो अवसरमा माछापुच्छ«े गाउँपालिका अध्यक्ष कर्ण गुरुङ, घरपझोङ गाउँपालिका मुस्ताङकी उपाध्यक्ष सर्मिला गुरुङ, तमु धिं एशोसियसन युकेका संस्थापक अध्यक्ष मिन गुरुङ ‘सिक्लेसी’, एनआरएन बेलायत राज्य समितिका उपाध्यक्ष लालबहादुर गुरुङ (एलबीजेड्), विभिन्न बैंकका अध्यक्ष तथा कार्यकारी प्रमुखहरु, समाजसेवी तथा खेलप्रेमीहरुको उपस्थिति थियो । यही फागुनको ३ गते पोखरा म्याराथन हुँदैछ ।