नेपालको मैत्रीपूर्ण एक दिवसीय क्रिकेटमा लगातार दोस्रो जित

नेपाल भ्रमणमा रहेको मलेसिया ११ टिमलाई १ सय ७० रनको जित निकालेको हो

जनसम्मत
माघ ९, २०७६, बिहीवार

पोखरा । नेपालको राष्ट्रिय क्रिकेट टोलीले मैत्रीपूर्र्ण एक दिवसीय क्रिकेटमा पाहुना टोली मलेसिया–११ माथि लगातार दोस्रो जित निकालेको छ ।

नेपाल भ्रमणमा रहेको मलेसिया ११ टिमलाई १ सय ७० रनको जित निकालेको हो ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल–११ ले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९० रन बनायो । बलियो सुरुवात गरेको नेपाल ११ ले ५४ रनमा पहिलो विकेट गुमाएको थियो ।

नेपाल ११ का लागि सुवास खकुरेलले ४८ रनको योगदान दिए । सुनिल धमलाले २४ रन जोडे । ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले । उनले ५५ रनको योगदान गरे । यस्तै, रोहितकुमार पौडेलले पनि नेपालका लागि अर्धशतक बनाए । उनले ५३ रन जोडे ।

लोकेश बमले ३२ रनको योगदान गरे । बिनोद भण्डारीले २१ बनाए । पवन शर्राफले १२ रन थपे । सुसान भारीले १६ बनाए । किशोर महतोले मात्र १ रन जोडे । कमल सिंह शून्य रनमै आउट बने ।

जवाफमा मलेसिया २८ ओभर ४ बलमा १२० रन बनाएर अलआउट बन्यो । उसका चार खेलाडीले मात्र दोहोरो अंक जोडे । भुषन साभेले २४ रन बनाए । सइद अजिजले २८ रनको योगदान गरे । यस्तै, भिरन्दीप सिंहले २३ रन बनाए । अहमद फेइजले १९ रन जोडे । मलेसियाका बाँकी खेलाडी पेभेलियन फर्किए ।

मलेसियाले ५ रनमा पहिलो विकेट गुमायो । उसको १८ रनमा दोस्रो, २५ रनमा तेस्रो विकेट झरेको थियो । अन्नतः १२० रनमा अलआउट भयो । नेपालका लागि ललित राजवंशी र किशोर महतोले ३/३ विकेट लिए । यसअघि, पहिलो खेलमा पनि नेपाल ११ विजयी बनेको थियो ।