राष्ट्रिय क्लब भलिबलको महिलातर्फ सेमिफाइनल समिकरण पूरा

समूह ए मा दुई विभागीय टोलीबीचको प्रतिस्पर्धामा एपीएफले सेनाको त्रिभुवन आर्मी क्लबमाथि ३ –१ को जित निकाल्दै समूह बिजेता बन्न सफल भएको छ,महिलातर्फकै समूह ‘बी’ को प्रतिस्पर्धामा न्यू–डायमण्ड स्पोर्टस् क्लब र ढोरपाटन स्पोर्टस् क्लबबीचको खेलमा न्यू डायमण्डले जित निकालेको छ

जनसम्मत
माघ ९, २०७६, बिहीवार

पोखरा । पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसीप को महिलातर्फको सेमिफाइनल समिकरण पूरा भएको छ ।

मंगलबार सम्पन्न समूह ए मा दुई विभागीय टोलीबीचको प्रतिस्पर्धामा एपीएफले सेनाको त्रिभुवन आर्मी क्लबमाथि ३ –१ को जित निकाल्दै समूह बिजेता बन्न सफल भएको छ । एपीएफले आर्मीलाई २५–१०, १९–२५, २५–१८, २५–११ ले पराजित गरेको हो । दुवै टिमले यसअघि नै सेमिफाइनलमा स्थान बनाई सकेका थिए ।

महिलातर्फकै समूह ‘बी’ को प्रतिस्पर्धामा न्यू–डायमण्ड स्पोर्टस् क्लब र ढोरपाटन स्पोर्टस् क्लबबीचको खेलमा न्यू डायमण्डले जित निकालेको छ । न्यू–डायमन्डले २५–३, २५–१६, २५–१२ को जित निकालेको हो । जितसँगै न्यू–डायमण्ड समूह बिजेता बन्दै सेमिफाइनलमा सेनासँगको भिडन्त पक्का गरेको छ ।

सेमिफाइनलमा एपीएफले समूह ‘बी’ को उपबिजेता अर्को बिभागीय टोली नेपाल पुलिस क्लबसँग र त्रिभुवन आर्मीले समूह ‘बी’ कै बिजेता न्यू–डायमण्ड स्पोर्टस् क्लबसँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषतर्फ पुलिस र एपीएफको जित

यसैगरि, प्रतियोगिता अन्तर्गत पुरुषतर्फ लिगको अन्तिम खेलमा दुर्ई विभागीय नेपाल पुलिस र सशस्त्र प्रहरीको एपीएफ क्लबले जित निकालेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा संचालित प्रतियोगिताका अन्तर्गत समूह ‘बी’ मा रहेको एपीएफले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरमाथि २५–१४, २५–१० र २५–९ को सोझो सेटमा जित निकाल्दै ६ अंक सहित समूह बिजेता बनेको छ ।

यस्तै, नेपाल पुलिसले समेत समूह ‘सी’ को अन्तिम लिग खेलमा मणिमुकुन्द भलिबल क्लबलाई २५–१४, २५–२० र २५–१४ को सोझो सेटमा पराजित गर्दै समूह बिजेता बनेको छ ।

यससँगै भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फ क्वाटरफाइनलको समिकरण पूरा भएको छ । पुरुषतर्फ क्वाटरफाईनलमा समूह ‘ए’ को बिजेता सेनाको त्रिभुवन आर्मीले समूह ‘सी’ को उपबिजेता मणिमुकुन्द भलिबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै समूह ‘बी’को बिजेता एपीएफले समूह ‘डी’को उपबिजेता बुद्धटोल युवा भलिबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘सी’को बिजेता नेपाल पुलिस क्लबले समूह ‘ए’को उपबिजेता नयाँबजार सामाजिक युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘डी’ को बिजेता हेल्प नेपाल स्पोर्टस् क्लबले समूह ‘बी’को उपबिजेता बुलबुले रारा क्लबसँग प्रतिस्पर्धा गर्ने भएका छन् । बुधबार पुरुषतर्फको ४ क्वाटरफाइनलका खेलहरु हुने छन् । नेपाल भलिबल संघको आयोजनामा भलिबल च्याम्पियनसीप भएको हो ।