बालबालिकाहरुको किन्डर ओलम्पिक

ओलम्पिकमा ३ देखि ५ बर्षका मन्टेश्वरीमा अध्ययन गरिरहेका बालबालिकाहरुले प्रतिस्पर्धा गरेका थिए, बालबालिकाहरुले २० मिटर, २५ मिटर र ३० मिटर दूरीको दौड, रिङ दौड, बल लिएर दौडिएका थिए, बालबालिकाहरुले कराँते, उसु, तेक्वान्दो, जिम्न्यास्टिक र जुमाको प्रदर्शन समेत गरेका थिए

जनसम्मत
माघ १०, २०७६, शुक्रबार

काठमाण्डौं । राजधानीमा साना साना बालबालिकाहरुलाई समेटेर किन्डर ओलम्पिक नामको खेलकुद गरिएको छ ।

अर्ली चाइल्ड हुड एजुकेशन टिचर्स एशोसियसनले आयोजना गरेको ओलम्पिकमा २८ बिद्यालयका १२ सय बालबालिकाहरुले प्रतिस्पर्धा गरेका थिए ।

ओलम्पिकमा ३ देखि ५ बर्षका मन्टेश्वरीमा अध्ययन गरिरहेका बालबालिकाहरुले प्रतिस्पर्धा गरेका थिए । बालबालिकाहरुले २० मिटर, २५ मिटर र ३० मिटर दूरीको दौड, रिङ दौड, बल लिएर दौडिएका थिए । यस्तै, बालबालिकाहरुले कराँते, उसु, तेक्वान्दो, जिम्न्यास्टिक र जुमाको प्रदर्शन समेत गरेका थिए ।

नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले प्रतिस्पर्धामा सहभागी सबै बालबालिका र बिद्यालयलाई ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरे । बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले स्वर्ण पदक प्रदान गरिएको थियो । यस्तै, सहभागी संपूर्ण विद्यालयलाई ट्रफी प्रदान गरिएको थियो ।

नेपाल ओलम्पिक कमिटीका महासचिव श्रेष्ठले कार्यक्रमको सफलताको शुभकामना तथा बधाई दिंदै आजका बालबालिका अबको ६/७ बर्षपछि राष्ट्रिय खेलाडीको रुपमा उदय हुने बताए । उनले खेलाडी उत्पादनमा संस्थाले गरेको कार्यको प्रशंसा समेत गरे । श्रेष्ठले ओलम्पिकसँग जोडिएको यस प्रतियोगितालाई आगामी दिनमा नेपाल ओलम्पिक कमिटीले आफ्नो कार्यक्रममा राख्ने उल्लेख गरे ।

साना बालबालिकाको समग्र विकास गर्ने उद्देश्यले आयोजना गरिएको किन्डर ओलम्पिक अन्तर्गत बुधबार दोस्रो चरणको खेलकुद कार्यक्रम गरिएको हो । यसअघि, गत पुसको १२ गते पहिलो चरणको किन्डर ओलम्पिकका खेलकुद कार्यक्रम गरिएको थियो ।

‘खेलकुदको आधार स्कुल’ भन्ने नाराका साथ बालबालिकाहरुलाई खेलकुदमा अभिरुची बृद्धि गर्दै भोलीको आधार खडा गर्ने उद्देश्यले किन्डर ओलम्पिक आयोजना गरिएको आयोजकले जनाएका छन् ।