अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई सफल दूधको प्रायोजन

म्याराथन अन्तर्गत ४२.१९५ किमी, महिला तथा पुरुषको १० किमी, छात्रछात्रा ५ कि.मी., व्हीलचेयर ४ सय मिटर पुरुष, १ सय मिटर महिला, दृष्टिविहीन १ सय मिटर र सबैका लागि ‘रन फर फन’ लगायतका इभेन्टहरु छन्

जनसम्मत
माघ १०, २०७६, शुक्रबार

पोखरा । अबको तीन हप्तापछि पोखरामा हुने अन्तर्राष्ट्रिय म्याराथनलाई सफल दूधले प्रायोजन गर्ने भएको छ ।

भुतपूर्व खेलाडी मञ्चको आयोजनामा यही फागुनको ३ गते हुने अन्तर्राष्ट्रिय म्याराथनलार्ई व्यापक बनाउन लक्ष्मी ग्रुप अन्तर्गतको सुजल डेरी प्रालिको सफल दूधले प्रायोजन गर्ने जनाइएको हो । यसअघि पनि म्याराथनलाई सफल दूधले नै प्रायोजन गर्दै आएको हो । सफल दूधले पोखरा अन्तराष्ट्रिय म्याराथनमा सहभागी हुन सवैमा आग्रह समेत गरेको छ ।

प्रालिको मार्केटिङ विभागले एक विज्ञप्ति जारी गर्दै भिजिट नेपाल २०२० को अवसरमा हुन गइरहेको अन्तराष्ट्रिय म्याराथन देश, विदेशबाट आउने धावकहरुका लागि पोखराबारे चिनाउन मद्दत पुग्ने जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘स्वदेशी र विदेशी धावकहरुको उल्लेख्य सहभागिता रहने म्याराथनले पोखरावासीको खेल र स्वास्थ्यको पहिचानलाई अन्तराष्ट्रिय समुदायमा चिनाउन मद्दत पुग्नेछ ।’

यस पटकको म्याराथनका लागि ‘दौडौं स्वास्थ्यका लागि, दौडौं पोखराका लागि’ मूल नारा तय गरिएको छ । सन् २००२ बाट शुरु भएको यस म्याराथन १४ औं संस्करणसम्म आइपुग्दा थप रोमाञ्चक र व्यापक बन्ने सफल दूधले विश्वास लिएको जनाइएको छ ।

यस संस्करणसम्म आइपुग्दा यस म्याराथन अन्तर्गत ४२.१९५ किमी, महिला तथा पुरुषको १० किमी, छात्रछात्रा ५ कि.मी., व्हीलचेयर ४ सय मिटर पुरुष, १ सय मिटर महिला, दृष्टिविहीन १ सय मिटर र सबैका लागि ‘रन फर फन’ लगायतका इभेन्टहरु छन् ।